काठमाडौँ । एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको फाइनल खेलमा आज नेपाल र सिंगापुर भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार बिहान ७: ४५ बजेदेखि शुरु हुने छ ।
विहिबार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुदै नेपाल र सिंगापुर फाइनलमा पुगेका हुन् । सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो भने सिंगापुरले हङकङ चाइनालाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
समुह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । समुह ए मा नेपाल अपराजित रहदै समुह विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो भने सिंगापुर उपविजेता हुदै सेमिफाइनलमा पुगेको थियो ।
त्यस्तै सेमिफाइनलमा पराजित भएका मलेसिया र हङकङ चाइना तेस्रो स्थानका लागि आजै खेल्ने तालिका रहेको छ ।
यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम सहभागी थिए ।
विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू-१६ टिम मलेसियामा यो प्रतियोगिता खेलिरहेको छ । नेपाली टिममा विपिन प्रसाद शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेट किपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology