काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहँदा अहिले अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा सामान्य बदली छ । सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा आंशिक बदली छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको जोखिमसमेत रहेको महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिइएको छ ।
अर्काे २४ घण्टासम्म सम्भावित वर्षाका कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना पनि बढेको महाशाखाले चेतावनी दिएको छ । ठूला र साना नदी–नालाहरूमा पानीको सतह उच्च हुन सक्ने, जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology