पहिलो गुरु बन्नु भयो आमा-बाबा प्रिय
प्यारको पाठ सिकाउँदै गर्नुभयो कर्म पवित्र ।।
दूधसँगै साँचो संस्कार हाल्दै मुटुमा
जीवनको बाटोमा राख्नुभयो नैतिक दीप ।।
क ख ग घ सिकाउँदै खोल्नुभयो द्वार
ज्ञानको उज्यालोमा उड्ने बनायौं आधार ।।
कलम सम्हाल्न सिखाउने ती पवित्र हात
गुन सम्झँदा झल्झली आँखा रसाउँछ आज ।।
पढाइको मात्र होइन, ज्ञानको भाव सिखायौं
सत्य र न्यायको बाटो के हो छर्लङ्ग देखायौं ।।
धैर्य, प्रेम, अनुशासनको पाठ बिर्सिन्न म कहिल्यै
गुरु बिना जीवन के हो, कल्पना गर्नै गाह्रो छ है ।।
रातभर निन्द्रा त्यागी हामीलाई उज्यालो देखाउने
अभावमा पनि संघर्ष गरि अगाडि बढ्न सिकाउने ।।
मनभित्र अंकित छन् ती वाणी र व्याख्यान
शब्दहरू मात्र हैन, आत्मासम्म टाँसिन्छ त्यो ज्ञान ।।
के हुन्थ्यो जीवन तपाईं नभएको भए साथ
शायद भुलको बाटोमा हराइसकेको हुन्थे आज ।।
गुरु तपाईंहरु नै हुनुहुन्छ मेरो जीवनको मूल
शब्दमा गन्न सकिन्न त्यो ऋण, त्यो तपस्या, त्यो फूल ।।
कृतज्ञता सागर हो, म त सानो धार मात्र
हरेक सासमा तपाईंलाई सम्झँदै बग्छु आज ।।
गुरु विना गति हुन्न, न लक्ष्य हुन्छ न ज्ञान
गुरु प्रति जीवन समर्पण गुरुमै छ ध्यान ।।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology