काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको उल्लेख गरिएको छ ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू-भागमा साधारणतया बदली रहँदा बाँकी भू-भाग आंशिक बदली रहेका छन् । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको उल्लेख छ ।
महाशाखाका अनुसार आगामी २४ घण्टामा सम्भावित वर्षाका कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहेको छ । शहरी तथा तराई क्षेत्रमा डुबानको सम्भावना रहन सक्ने, साना–ठूला नदी, नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । महाशाखाले सर्वसाधारणसहित सबै सरोकारवाला निकायहरूलाई आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology