काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास नै रहेको छ ।
हाल देशका अधिकांश भू-भागमा आंशिकदेखि साधारणतया बदली देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पनि देशभर सामान्य बदलीको अवस्था रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसबाहेक कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात पनि सम्भावित छ ।
महाशाखाले आगामी २४ घण्टा सम्भावित वर्षाका कारण भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेको, नदी–नाला र खोलाहरूको सतह बढ्न सक्ने, जसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित पार्न सक्ने भएकाले आम सर्वसाधारण र सरोकारवाला निकायहरूलाई पूर्वतयारी तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology