काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको नयाँ लोगो र ट्रफीको डिजाइनका लागि आवेदन आह्वान गरेको छ ।
एन्फाले सूचना प्रकाशित गर्दै इच्छुक डिजाइनरहरुलाई २०८२ भदौ १५ गतेभित्र प्रस्ताव पठाउन आग्रह गरेको हो । एन्फाको औपचारिक इमेल procurement@the-anfa.com मा लोगो र ट्रफीको डिजाइन पेश गर्न सकिनेछ ।
लोगो डिजाइनका लागि निर्धारण गरिएका मापदण्डमा फुटबलको भावना, राष्ट्रप्रेम र सहिदहरूप्रतिको श्रद्धाभाव समेटिनुपर्ने उल्लेख छ । लोगोमा बल, गोलपोष्ट वा खेलसम्बन्धी प्रतीक, नेपाली पहिचान झल्काउने झण्डा वा रङ, सहिद प्रतिनिधित्व गर्ने चिह्न र ‘सहिद स्मारक ए डिभिजन लिग’ भन्ने स्पष्ट पाठ अनिवार्य रुपमा समावेश गर्नुपर्नेछ ।
प्रस्तुत गरिने डिजाइन एडोब इलुसट्रेटर फाइलमा पूर्णतः मौलिक हुनुपर्नेछ । लोगो छापामा, डिजिटल माध्यममा र टेलिभिजन ब्रोडकास्टमा प्रयोग गर्न मिल्ने किसिमको हुनुपर्नेछ ।
एन्फाले उत्कृष्ट लोगो डिजाइनलाई नगद ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने बताएको छ ।
ट्रफी डिजाइनका लागि भने एन्फाले १० किलो शुद्ध चाँदी प्रयोग गरिने उल्लेख गरेको छ । डिजाइनले फुटबलमा विजय र सम्मान, राष्ट्रिय गौरव र सहिदहरूप्रति श्रद्धाञ्जली झल्काउनु पर्नेछ । ट्रफी भव्य, विशिष्ट र लिगको गौरवपूर्ण इतिहास प्रस्तुत गर्ने खालको हुनुपर्ने बताइएको छ ।
डिजाइनसहित प्रारम्भिक स्केच वा थ्रीडी मोडेल, प्रेरणा र व्याख्या, र पीडिएफ, एडोब इलुसट्रेटर वा थ्रीडी डिजाइन फाइल अनिवार्य पेश गर्नुपर्नेछ ।
छनोट भएको डिजाइनलाई ट्रफी निर्माणमा प्रयोग गरिनेछ भने डिजाइनरलाई एन्फाले औपचारिक रुपमा सम्मान गर्नेछ । विजेता डिजाइनरलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उल्लेख छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology