काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा जारी रहेको जानकारी महाशाखाले दिएको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहने प्रक्षेपण गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थानहरू पनि प्रभावित हुने देखिएको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको सम्भावना छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भू–भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना पनि महाशाखाले औंल्याएको छ ।
अगामी २४ घण्टामा सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहने देखिएको छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबानको खतरा बढ्न सक्छ । ठूला र साना नदी–नाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । यस्तो अवस्थामा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने देखिएको छ । महाशाखाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण र सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology