देवदह । भर्खरै सकिएको आर्थिक वर्षमा २५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको देवदह नगरपालिकाले मात्र ५० प्रतिशतको हाराहारीमा राजश्व संकलन गर्यो । जसको अधिकांश हिस्सा नदिजन्य पदार्थको छ । १२-१३ करोड आन्तरिक आय भएको नगरपालिकाको कर्मचारी र जनप्रतिनिधि व्यवस्थापन खर्च नै १७ करोडभन्दा माथि छ । घाटा बजेटले निरन्तरता पाइरहेको छ, योजनाको भुक्तानी नभएर उजुरी परेका घटना बाहिर आएका छन् । तर नगरपालिकाको कार्यपालिका टिम भने नयाँ आर्थिक वर्षको पहिलो दिन नै दलबल सहित भ्रमणमा निस्किएको छ ।
यतिबेला नगर प्रमुख ध्रुवप्रसाद खरेलको नेतृत्व र प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालको व्यवस्थापनमा २३ जनाको टिम कैलाली र कन्चनपुरमा घुमफिर गरिरहेको छ । बिहिवार देवदहबाट हिडेको टिम आइतबार कार्यालय फर्किने जनाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पौड्यालले १० लाखको भ्रमण कार्यक्रम रहेकोले पेश्की लिएर घुम्न निस्किएको बताए । सेतोमसीसंग कुरा गर्दै उनले भने, 'यो पहिले नै वार्षिक कार्यक्रममा थियो, अहिले कार्यान्वयन गरिएको हो ।'
उनले प्रक्रियासंगत नै पेश्की लिइएको र भ्रमणमा कति खर्च हुन्छ यकिन नभएको बताए । उनका अनुसार कार्यक्रमको प्रस्तावना नै बनाइएको छैन । '१० लाखबाट जति खर्च हुन्छ, त्यति गर्ने हो, सबै खर्च नहुन पनि सक्छ' उनले भने ।
यता समाजिक संजालमा नगर सभा सदस्यहरुले नै भ्रमणबारे जानकारी नभएको र यस्ता भ्रमणले भ्रष्टाचारलाई बढावा दिने भन्दै आपत्ति जनाएका छन् । वडा नं १० का जनप्रतिनिधि अमर लामिछानेले घाटा बजेटमा मोज गर्ने शैली ठिक नभएको बताए । सेतोमसीसंग कुरा गर्दै उनले आफु निरन्तर सुशासनको पक्षमा लड्दै आएको तर नगर नेतृत्व र प्रशासनिक नेतृत्व नीति, विधि र प्रक्रियाभन्दा बाहिर गएर नागरिकले अपेक्षा गरे विपरितका कार्यमा सक्रिय हुँदै आएको आरोप लगाए ।
नागरिक समाज देवदहका संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेलले नगर नेतृत्व पालिका र पालिकावासीका मुद्धामा कम र आफ्ना सेवा सुविधामा बढी चिन्तित देखिएको बताए । 'पालिकामा पैसा नभएर भुक्तानी रोकिने अवस्था एकातिर छ भने अर्कोतिर आर्थिक वर्षको पहिलो दिन नै जनप्रतिनिधि, तिनका 'स्वकीय' र कर्मचारी प्रशासनको नेतृत्व गर्ने प्रमुख प्रशासकीय अधिकृत पेश्की बोकेर भ्रमणमा निस्किरहेको पाइएको छ ।' उनले भने, 'यसले हामीले जिताएका जनप्रतिनिधि र हाम्रो करबाट तलब खाने कर्मचारीहरु आफ्नो जिम्मेवारीमा गम्भीर नभएको पुष्टि गर्छ ।'
अडिटर सिपि बश्याल नगरपालिकामा वेथितिको पहाड नै रहेको दावी गर्छन् । 'नगरपालिका आफैले गर्ने कार्यक्रमको हरेक फाइलमा प्रक्रिया मिचिएको हुन्छ, या किर्ते गरेर मिलाइएको हुन्छ ।' उनले भने, 'सामान्य मान्छेले हेर्दा सबै ठिकठाक देखिएपनि त्यसको ठिक उल्टो काम आर्थिक प्रशासनमा भैरहेको देखिएको छ, त्यसैको निरन्तरता यो भ्रमण हो ।'
पेश्की लिन नै नपाउने हो र ? भन्ने प्रश्नमा अडिटर बश्याल भन्छन्, 'पेश्की लिनै नपाउने भन्ने होइन, लिएको पेश्की ३५ दिनभित्र फर्स्यौट गर्ने गरी आवश्यक परेको खण्डमा लिन पाइने व्यवस्था छ । तर आर्थिक वर्षको अन्त्यमा गत वर्ष पेश्की निकालेर अहिले भ्रमणमा जाने कुरा कानुनीभन्दा पनि नैतिकताको विषय हो । कानुनका छिद्र प्रयोग गरेर मनलाग्दी गर्न पाइन्न, यो नीतिगत भ्रष्टाचार हो ।'
त्यसैगरी अर्का अभियन्ता प्रमोद खनालले भ्रमणबारे व्यंग गर्दै सामाजिक संजालमा लेखेका छन । उनले भनेका छन, 'देवदह नगरपालिकामा मानसिक र शारीरिक थकाई नै लाग्ने गरी २०८१/०८२ मा सबै काम भएछन । सबै योजना सम्पन्न गरी अनुमानित भन्दा यथेष्ट राजश्व संकलन भएछ र उहाँहरू रिफ्रेसमेन्ट भ्रमणमा पाल्नु भएछ ।'
नगरपालिकाको सार्वजनिक लेखा समितिका संयोजक समेत रहेका वडा नं १० का वडा अध्यक्ष यकबहादुर सुनार यो भ्रमणको रकम भुक्तानीलाई लेखा समितिले रोक्ने र भुक्तानी लिइनै सकेको भए फिर्ता गराएर व्यक्तिलाई तिराउने बताउँछन् । 'हामी लेखा समितिको बैठक बस्छौं र यसमा खेद प्रकट गर्छौं ।' संयोजक सुनारले भने, 'पेश्की लिएर घुम्न गएको भन्ने छ, प्रमुख प्रशासकीय अधिकृतले कसरी पेश्की लिए ? उनी प्रश्नको घेराभन्दा बाहिर छैनन् ।'
नागरिक र जनप्रतिनिधिको गुनासो र भ्रमणबारे नगर प्रमुख खरेललाई राखिएको जिज्ञासामा उनले यो नियमित प्रक्रिया भएको बताए । 'सबै भ्रमण जान्छन् र हरेक वर्ष जान्छन । हामी २०७९ सालमा गएका थियौं, त्यसपछि अहिले केही पालिकाको अध्ययन गर्ने गरी भ्रमण आएका हौँ' उनले भने ।
प्रमुख खरेलका अनुसार टिकापुर, चादनी र दोधाराका पालिका भ्रमण गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा कार्यपालिका सदस्यहरु, व्यवस्थापनको लागि प्रमुख प्रशासकीय अधिकृत र सवारी चालकसहित केही कर्मचारी सहभागी छन् ।
यद्यपि केही वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले आफूहरू भ्रमणमा सहभागी नभएको बताएका छन ।
योजनाको भुक्तानी नहुँदा न्यायिक समितिमा उजुरी, विपन्नलाई दिने उपचार खर्चसमेत रोकियो
यसरी नगर नेतृत्व घुमफिरमा लागिरहदा काम गरेर भुक्तानी नभएका केही गुनासाहरु सेतोमसीसम्म आएका छन् । वडा नं ९ को वडा कार्यालयमा ट्रष्ट बनेको रकमको भुक्तानी नभएकोले भुक्तानी पाउँ भनी पालिकाको न्यायिक समितिमा मुद्धा दायर गरिएको पाइएको छ । दुई ग्रील व्यवसायीले आफुहरुले पाउनुपर्ने रकम नपाएको भन्दै मुद्धा दर्ता गरेको सेतोमसीलाई बताए ।
त्यसैगरी उपभोक्ता समितिले कार्यसम्पन्न गरिसके पनि भुक्तानीमा दु:ख दिने गरेको र कतिपयले अहिलेपनि पनि योजना सम्पन्न प्रतिवेदन सिरानीमा राखेर सुतेको दावी गरेका छन् । उनीहरुले आफुहरुले तिरेको करको जनप्रतिनिधि र कर्मचारीले दुरुपयोग गरिरहेको आरोप लगाए ।
त्यतिमात्र होइन, देवदह नगरपालिकाले विपन्न परिवारलाई उपचारको निम्ति आर्थिक सहयोग गर्ने बचन दिएर पनि भुक्तानी नदिएको अर्को तथ्य सार्वजनिक भएको छ । देवदह नगरपालिका वडा नं ९ का ११ वर्षीय बालक राजकुमार विकको उपचारमा सहयोग गर्ने बचन दिएको नगरपालिकाले आजसम्म भुक्तानी नदिएको उनका बाबु समर विकले सेतोमसीलाई बताए । '
'स्थानीय सरहरूले सहयोग अभियान चलाउनु भयो र केही पैसा उठ्यो, अहिले उपचार चलिरहेको छ । नगरपालिकाले पनि सहयोग गर्ने भनेको हो, आजसम्म पैसा पाएका छैनौं' उनले भने ।
११ वर्षीय बालक राजकुमार विकको फोक्सोमा समस्या देखिएपछि फोक्सोको अपरेशन गर्न परिवारले चन्दा संकलन गरिरहेको थियो । बालमैत्री वडा अभियान चलाईरहेको नगरले विपन्न परिवारको एउटा बालकलाई समस्या पर्दा सहयोग नगरेको भन्दै समाचार सार्वजनिक भएका थिए । लगत्तै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर सापकोटा सरुवा भएर पौड्याल आएपछि ती बालकको भुक्तानी रोकिएको परिवारको गुनासो छ ।
सार्वजनिक सुनुवाई भएन, भ्रमण भयो
गत केही वर्षदेखि नगरपालिकामा नियमित सार्वजनिक सुनुवाई हुँदै आएको थियो । जसले लिजा लगायतका संस्थागत विकास र स्वमुल्यांकनहरुमा देवदहले राम्रो अंक प्राप्त गरिरहेको थियो । तर यो पटक आर्थिक वर्षको अन्त्यमा समेत सार्वजनिक सुनुवाई नगरी नगर नेतृत्व भ्रमणमा निस्कियो । जसले संस्थागत सुशासन र पारदर्शितामा बादल लागिरहेको महसुस स्थानीयले गरेका छन् ।
नियमित पत्रकार सम्मेलन हुनुपर्ने, सार्वजनिक सुनुवाई हुनुपर्ने, आवधिक समिक्षा हुनुपर्ने र त्यहाँबाट नयाँ योजनामा होमिनुपर्नेमा नगरपालिकाले त्यसको ठिक उल्टो बाटो समातेको स्थानीय बुद्धिजिबीहरुको भनाइ छ ।
देवदह आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख समेत रहेका नागरिक समाज देवदहका अध्यक्ष जयकिसन अधिकारी नागरिकलाई गुमराहमा राखेर र कानुनी छिद्र प्रयोग गरेर राज्यका निकायले काम गर्न नहुने बताउँछन् । 'पारदर्शिता पहिलो कुरा हो, नगरकै जनप्रतिनिधिलाई कार्यपालिकाको टिम भ्रमणमा गएको बारे जानकारी समेत नहुनुले हामीले धेरै सुधार गर्नुपर्ने ठाउँ छ भन्ने देखिन्छ' उनले भने ।
त्यसो त देवदह नगरपालिकाका पदाधिकारी र कर्मचारीले सरकारी सम्पत्तिको दुरुपयोग गरेको विषयमा बेलाबेलामा नागरिकले आवाज उठाउँदै आएका छन् । नगर प्रमुख, उपप्रमुखको गाडी कालिञ्चोकदेखि कुलपुजा, पोखरादेखि मुस्ताङ्ग अनि व्यक्तिगत पार्टी भोज र कार्यकर्ता ओसारपसारसम्ममा दुरुपयोग हुँदै आएको स्थानीयहरु बताउँछन् ।
महालेखाको प्रतिवेदन के भन्छ ?
महालेखाका गत वर्षका प्रतिवेदनहरुमा नगरपालिकामा भएका केही बेथितिलाई लिपिबद्ध गरिएको छ । भ्रमण कै सन्दर्भमा कर्मचारी र जनप्रतिनिधिहरुले भ्रमणबापतको खर्च लिने तर त्यसको प्रतिवेदन पेश गर्ने नगरेको महालेखाले औंल्याउँदै आएको छ ।
नागरिकसंग सानोसानो काममा पनि अनावश्यक कागजपत्र मागेर दु:ख दिने कर्मचारी प्रशासनले आफु र जनप्रतिनिधिहरुको भुक्तानी आवश्यक कागजात विना नै गर्ने गरेको महालेखाको प्रतिवेदनले पुष्टि गर्दछ ।
त्यसैगरी नगर प्रमुखले दुई लाख मूल्य बराबरको मोबाइल नगरपालिकाको रकमबाट किनेको लगायतका विषयमा पनि महालेखाले टिप्पणी गर्दै आएको छ । यस सम्बन्धि समाचार नै प्रकाशित छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology