काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रुपमा जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । यसको प्रभावस्वरूप देशका अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने केही स्थानमा वर्षा भइरहेको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिइएको छ । अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेश लगायतका पहाडी भू-भागमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । तीमध्ये बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना जनाइएको छ ।
आगामी २४ घण्टामा सम्भावित वर्षाका कारण भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबानको खतरा रहेको, साना–ठूला नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ । त्यसैले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई पूर्वतयारीसहित सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology