काठमाडौँ । देशभर मनसुनी वायुले कमजोर प्रभाव जमाइरहेका बेला पनि केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ र अहिले देशभर पहाडी भू-भागमा सामान्य बदली छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । दिउँसोसम्म देशभर साधारणतया बदली रहने देखिएको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी क्षेत्रका केही स्थान र अन्य भू-भागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने उल्लेख छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र कोशी तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने अवस्था रहेको पूर्वानुमान गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology