काठमाडौँ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली समूहले निलम्बन गरेका युवा संघ लुम्बिनीका अध्यक्ष सुरज खरेलले पार्टी सुदृढिकरणको लडाई सुरु भएको बताएका छन् ।
समासमयिक राजनीतिक परिस्थिति र कारवाहीको विषयमा सेतोमसीसंग कुरा गर्दै 'अध्यक्ष' खरेलले ओली गुटको कारवाहीलाई खारेज गर्ने बताए । 'एउटा सानो झुण्डले गरेको कथित कारवाहीले पार्टी सुदृढिकरणको अभियान रोकिन्न । यो झन् सशक्त बनेर अगाडि बढ्छ ।' उनले भने, 'अब प्रदेश र जिल्ला जिल्लामा समानान्तर कमिटि निर्माण हुन्छन र अभियान नयाँ ढंगले अगाडि बढ्छ ।'
तपाईं माफी मागेर फेरी पुरानै अवस्थामा फर्किने सम्भावना कति छ भन्ने प्रश्नमा 'अध्यक्ष' खरेलले पार्टीभित्र लोकतान्त्रिक मुद्धा र मूल्य मान्यताको वकालत गर्नेहरु कहिलेपनि प्रतिगामी र तानाशाही समूहसंग नझुक्ने बताए । 'त्यस्तो सम्भव छैन, प्रतिगामी र तानाशाहीहरुसंग झुक्न हामीलाई हाम्रो आदर्श र कम्युनिष्ट राजनीतिले सिकाएको छैन र त्यो गरिन्न' उनले भने ।
ओली समूहले भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित गरेसँगै अब केन्द्रमा देखिएको ओली र भण्डारी समुहको विवाद तल्लो तहमा देखिन लागेको हो ।
साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।
रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ (दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९-११, पोखरा, कास्कीद्वारा संशोधितको धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूवाट पदमुक्त गर्दै, एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ ।
संघको पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा स्पष्टीकरण सोधिएकोमा खरेलले गैरजिम्मेवार र अराजक जवाफ पठाएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको र स्वेच्छाचारी तथा मनोमानी गतिविधि गरेको आरोप लगाइएको छ । खरेलसँग सोधिएको स्पष्टीकरणमा १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूमाथि अशिष्ट र अभद्र व्यवहार गरेको, प्रतिनिधिहरूलाई धम्काएको र सामाजिक संजालमा पार्टी नेतृत्वलाई लाञ्छना लगाउने र मानहानी गर्ने लगायतका गतिविधि गरेको आरोप लगाइएको छ ।
खरेलले इमेलमार्फत तीन पेज लामो स्पष्टीकरण दिंदै आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology