संघार समूह भलुहीमा सनिवार ४१ पिन्ट रगत संकलन :
देवदह । बुटवल तथा आसपासका क्षेत्रमा रगत अभावका समाचारहरु आउने क्रमबढेसँगै देवदहका संघसंस्था र क्लवहरु रक्तदान कार्यक्रममा जुटेका छन् । रक्तदानका लागि विभिन्न समयमा कार्यक्रम गर्ने यहाँका संघसंस्थाहरुले रक्तदान कार्यक्रमलाई तिव्र पारेका हुन् ।
यसैक्रममा संघार समूह देवदह ९ र १० को आयोजनामा सनिवार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । देवदहको भलुहीमा भएको कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको संयोजक पुकार केसीले जानकारी दिए ।
स्थानीय जनप्रिय सामुदायिक वन उपभोक्ता समूहको सह–आयोजना तथा हिराज मोटर र भलुही खेल मैदान उपभोक्ता समितिको सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रममा रक्तदातालाई रक्त व्याग हस्तान्तरण गर्दै देवदह नगरपालिका वडा नं ९ का अध्यक्ष मोहनबहादुर जिसीले समय समयमा देवदह क्षेत्रमा हुने रक्तदान कार्यक्रमले यस क्षेत्रको रगत अभाव कम गर्न मद्धत पुर्याउने गरेको उल्लेख गरे । ‘रगत दिए रगत पाइन्छ’ भन्ने मान्यतालाई आत्मसाथ गर्न सके कहिल्यै रगत अभाव नहुने उनले बताए ।
‘मन मस्तिष्कमा समझदारी, हृदयमा इमान्दारी, काँधमा जिम्मेवारी’ भन्ने नारा सहित सामाजिक कार्यमा सक्रिय रहेको समुहले यसअघि पनि समय समयमा रक्तदान कार्यक्रम गर्दै आएको क्लवका अध्यक्ष समेत रहेका वडा नं ९ का वडा अध्यक्ष जिसीले जानकारी दिए ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग र नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा भएको कार्यक्रममा समाजका जिल्ला अध्यक्ष कृष्ण चौहान क्षेत्री, जनप्रतिनिधिहरु कृष्णमाया राना, अमर लामिछाने समाजसेवी जसु पुन, नारायण पराजुली लगाएको उपस्थिती रहेको थियो ।
व्यापार संघले आइतवार बृहत् रक्तदान गर्ने :
यसैबिच देवदह व्यापार संघले साउन ११ गते आईतवार बृहत् रक्तदान कार्यक्रम गर्ने जनाएको छ । संस्थाको १२औं स्थापना दिवसको अवसर पारेर संघको सचिवालय देवदह ५ पानवारीमा रक्तदान कार्यक्रम गर्न लागिएको हो ।
देवदह क्षेत्रमा लामो समय रक्तदान कार्यक्रम नभएको र पछिल्ला दिनमा रगतको अभाव सम्बन्धि समाचारहरु आइरहेको भन्दै रगत आपुर्तिलाई सहज बनाउन रक्तदान कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष कोषबहादुर गुरुङले जानकारी दिए ।
‘हामी व्यावसायिक संघसंस्थाहरु व्यापार व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत मध्येनजर गर्दै अगाडि बढ्नुपर्ने हुन्छ, किनकी हामी समाज भन्दा अलग रहन पनि सक्दैनौं ।’ उनले भने, ‘हाम्रो हाम्रो सानो प्रयासले कसैको जीवन रक्षा हुन्छ भने हामीले त्यसमा कन्जुस्याइँ किन गर्ने ?’
साउन ११ गते आइतवार विहान ७ बजेबाट हुने रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न संघले आफु मातहतका सम्पूर्ण सदस्यहरु, उद्योगी व्यापारी, शिक्षक, विद्यार्थी, कर्मचारी लगायत सम्पूर्णमा आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology