काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्ने फिल्म ‘सुखदुःख’ मा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छन । आइतबार निर्माण पक्ष र शर्माबीच औपचारिक कागजी सम्झौता भएको निर्माण पक्षले जनाएको छ ।
फिल्म ‘सुखदुःख’ नीता ढुंगानाको निर्देशनमा डेब्यु हुने पहिलो प्रोजेक्ट हो । यसअघि फिल्मका लागि भारतीय चर्चित छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका रूपमा अनुबन्ध भइसकेका छन । मुख्य कलाकारको नाम अझै गोप्य राखिएको छ भने निर्देशक नीताले उचित समयमा कलाकारबारे खुलासा गरिने जानकारी दिएकी छन ।
शंकर पाण्डे निर्माण व्यवस्थापक रहने फिल्म ‘सुखदुःख’ नीता फिल्म्सको ब्यानरमा निर्माण हुँदैछ । फिल्म आगामी वर्षको दशैँको फूलपातीका दिन प्रदर्शनमा ल्याउने लक्ष्य लिइएको छ । फिल्मको वितरण अधिकार उपत्यकाबाहिरका लागि एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले वितरण गर्ने जिम्मा लिएको छ ।
वरिष्ठ अभिनेत्री मिथिला शर्माको अनुभव, चर्चित भारतीय प्राविधिक टिम, र नीताको निर्देशनसँग जोडिएको अपेक्षाले ‘सुखदुःख’ दर्शकमाझ उत्सुकताको विषय बन्दै गएको देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology