बुटवल । सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । बुटवल उद्योग वाणिज्य संघ रूपन्देही र सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा सोमबार संघमा आबद्ध उद्योगी व्यवसायीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरिएको जनाइएको छ ।
श्रमिकको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सामाजिक सुरक्षा कोष बुटवल शाखाका प्रमुख केदार पौडेलले जानकारी दिए । उनले कोष स्थापनाको उद्देश्यदेखि लिएर सञ्चालन प्रक्रिया, श्रमिक तथा रोजगारदाता दुवैको योगदान, योजनाका लाभ, आश्रित परिवारलाई प्राप्त हुने सेवा सुविधा लगायतका विषयमा उनले प्रष्ट पारे ।
उनका अनुसार कोषमा कामदारको मासिक तलबको ३१ प्रतिशत रकम कोषमा जम्मा हुने व्यवस्था छ । जसमा ११ प्रतिशत कामदारको तलबबाट र बाँकी २० प्रतिशत रोजगारदाताले योगदान गर्नुपर्ने हुन्छ । यसवापत कोषले दुर्घटना बीमा, स्वास्थ्योपचार, मातृत्व तथा शिशु स्याहार भत्ता, घातक रोगको उपचार खर्च र दीर्घकालीन पेन्सनजस्ता सेवा सुविधा उपलब्ध गराउँछ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक र वैदेशिक रोजगारमा जानेहरू पनि यो कोषमा आबद्ध हुन सक्छन् ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालले सामाजिक सुरक्षाको प्रत्याभूति श्रमिक मात्र नभई सम्पूर्ण उद्योग क्षेत्रकै हितमा हुने बताए । उनले निजी क्षेत्रबाट कोषमा आबद्ध हुने बुटवल उद्योग वाणिज्य संघ पहिलो संस्था भएको बताउँदै अझ बढी उद्योगहरूलाई आबद्ध गराउने अभियानमा लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नेपालमा न्यूनतम पारिश्रमिक र महंगीबीचको असन्तुलनले युवालाई विदेश पलायनतर्फ धकेलेको टिप्पणी गरे । उनले सामाजिक सुरक्षा कोष श्रमिक मात्र नभई उद्योगी व्यवसायीका लागि पनि दीर्घकालीन लाभदायी भएकाले यसलाई थप वैज्ञानिक ढंगले परिमार्जन गर्नुपर्ने धारणा राखे ।
त्यसैगरी संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले छोटो अवधिका मजदुरलाई कोषमा कसरी समावेश गर्ने भन्ने विषयमा स्पष्ट दिशा आवश्यक रहेको बताए । उनले साना उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई सहज बनाउनेतर्फ कोषको ध्यान जानु पर्ने धारणा राखे ।
संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले सहभागीहरूलाई धन्यवाद दिँदै, सामाजिक सुरक्षा कोषमाथिको जानकारी अब व्यवहारमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए । कार्यक्रम महासचिव मुक्ति अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संघका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, कोषाध्यक्ष बसन्तप्रसाद ढकालसहित संघका पदाधिकारी, सदस्य तथा विभिन्न बस्तुगत समितिका सभापति र उपसभापतिको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology