तिलोत्तमा । आँखा उपचार केन्द्रहरुको वार्षिक समीक्षा गोष्ठी तिलोत्तमामा सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघअन्तर्गत लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल र त्यसअन्तर्गत सञ्चालित आठवटा आँखा उपचार केन्द्रहरुको वार्षिक समीक्षा तथा कार्यक्रम तर्जुमा गोष्ठी बुधवार तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सम्पन्न भएको हो ।
गोष्ठीमा आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न कार्यहरूको समिक्षा गरिएको श्री रण अम्बिका शाह आँखा अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिए ।
कार्यक्रममा आठवटै उपचार केन्द्रका इन्चार्जहरूले समुदायमा गरिएको सेवा, वित्तीय अवस्था र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले जनचेतना, अन्तरक्रिया, सेवा विस्तार र गुणस्तरीय उपचारप्रति केन्द्रहरूले ध्यान केन्द्रित गरिनुपर्ने धारणा राखे ।
यो वर्ष उपचार सेवामा उत्कृष्ट कार्यसम्पादन गरेको निष्कर्षसहित मर्चवारी आँखा उपचार केन्द्रलाई चिफ मेडिकल डाइरेक्टर प्रोत्साहन पुरस्कारबाट सम्मान गरिएको जनाइएको छ ।
संस्थानका चिफ मेडिकल डाइरेक्टर प्रा. डा. सुशिला पटेलको अध्यक्षता रहेको गोष्ठीमा नेपाल नेत्रज्योति संघ रूपन्देही शाखाका पदाधिकारी, सम्बन्धित केन्द्रका इन्चार्जहरू, चिकित्सक तथा प्राविधिकहरूको उपस्थिति थियो ।
कार्यक्रममा प्रा. डा. कबिन्द्र बज्राचार्यको स्वागत तथा नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका सचिव राजेन्द्र प्रसाद पन्थीको संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology