काठमाडौं । प्रतिनिधिसभा सदस्यको रिक्त पदपूर्तिका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा मंसिर १७ गते हुने उपनिर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूका लागि निर्वाचन आयोगले दल दर्ता प्रक्रिया खुला गरेको छ । आयोगले साउन २१ गतेदेखि २७ गतेसम्म कार्यालाय समयभित्र निवेदन दिन आह्वान गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नीता पोखरेल अर्यालद्वारा बिहीबार जारी विज्ञप्तिमा नेपाल संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम कान्तिपथस्थित आयोगमा दल दर्ताको निवेदन दिन सकिने उल्लेख गरिएको छ ।
दल दर्ता निवेदन राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ अनुसार तयार गर्नुपर्नेछ । आयोगले निवेदन दिने बेलामा पेश गर्नुपर्ने विवरण र कागजातसमेत स्पष्ट पारेको छ । दलको पूरा विवरण, कार्यसमितिका पदाधिकारी संख्या, वार्षिक लेखापरीक्षण प्रतिवेदन, उम्मेदवारलाई मनोनयन दिने अधिकारसम्बन्धी निर्णयको प्रतिलिपि, पदाधिकारीको दस्तखत नमूना लगायतका विवरण समावेश गरिनुपर्नेछ ।
विगत आर्थिक वर्षहरूमा एकीकरण वा गाभिएका दलहरूले फरक किसिमको लेखा परीक्षण प्रतिवेदन पनि पेश गर्नुपर्नेछ । दलको प्रमुख पदाधिकारीले दस्तखत गरेका प्रमाणित चेकलिस्ट (रुजु सूची) अनिवार्य रूपमा संलग्न गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology