काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेकोले देशभर सामान्यतया बदलीको अवस्था छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर सामान्य बदली हुने महाशाखाको पूर्वानुमान छ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ।
आज राति पनि देशभर सामान्यतया बदली नै रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित बाँकी तराईका धेरै स्थानहरूमा तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेको कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बाढी, डुबान वा पहिरोजस्ता सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई अनुरोध गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology