देवदह । ग्रिनप्लान्ट आवासीय माध्यमिक विद्यालयकी छात्रा स्वस्तिका गोतामे व्यवस्थापनतर्फ नेपाल प्रथम भएको दावी गरिएको छ । कक्षा १२ को परिक्षामा ३.९५ जिपिए सहित उत्तिर्ण भएकी स्वस्तिका नेपाल प्रथम भएको विद्यालयले दावी गरेको हो ।
बुधवार विद्यालयमा पत्रकार भेटघाट गर्दै विद्यालयका प्रिन्सिपल राजिव सापकोटाले देशभरबाट अहिलेसम्म सबैभन्दा बढि जिपिए ३.९६ सम्म मात्र दावी गरिएको हुँदा व्यवस्थापनतर्फ ग्रिन प्लान्टकी स्वस्तिकाको नतिजा देशभरकै उत्कृट भएको दावी गरे । उनले भने, ‘अहिलेसम्मको बढि जिपिए ३.९६ भन्ने हामीलाई लागिरहेको छ, त्यो पनि विज्ञान तर्फको नतिजा हो । व्यवस्थापन विज्ञानको रिजल्ट त्यो भएपछि हामीलाई दावी गर्न थप सहयोग मिलेको हो ।’ प्रिन्सिपल सापकोटाका अनुसार सबै विषय तर्फको समग्र नतिजालाई हेर्दा समेत स्वस्तिकाको नतिजा देशमै उत्कृष्ट दोश्रो स्थानको नतिजा हो ।
ग्रिनप्लान्टबाट २०८१ को कक्षा १२ को परिक्षामा १८३ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ६१.७५ प्रतिशत अर्थात ११३ जना विद्यार्थी उत्तिर्ण भएको विद्यालयले जनाएको छ । ग्रिनप्लान्टबाट नवराज अधिकारीले ३.८७ र नमुना गैरेले ३.८० जिपिए प्राप्त गरेका छन् ।
ग्रेडगत रुपमा हेर्दा उत्तिर्ण विद्यार्थीमध्ये ग्रिनप्लान्टबाट ३.६ देखि ४ जिपिए ल्याउने ११ जना, ३.२ देखि ३.६ ल्याउने २९ जना, २.८ देखि ३.२ ल्याउने ४१ जना र २.४ देखि २.८ ल्याउने ३२ जना रहेको विद्यालयका प्रिन्सिपल सापकोटाले जानकारी दिए ।
२०५८ सालबाट एस एल सी सुरु गरेको ग्रिन प्लान्टले कक्षा ११÷१२ को परिक्षामा २०६४ सालमा सहभागिता जनाउन सुरु गरेको हो । ६४ सालमा कक्षा १२ को पहिलो परिक्षामा ग्रिनप्लान्टले ९४ जना बिद्यार्थिहरु सहभागि गराएको विद्यालयका प्रवन्ध निर्देशक एकनारायण काफ्लेले जानकारी दिए । उनले भने हामीले सामान्य हिसावबाट शैक्षिक गतिविधि अगाडी बढाइरहेका छौं । त्यो कुरा हाम्रो विद्यालयले प्राप्त गरेको नतिजाहरुले देखाउँछ । काफ्लेले संस्थागत रुपमा देवदहमा सबैभन्दा जेठो विद्यालय ग्रिन प्लान्ट भएकाले पनि हाम्रो सालिनता र अनुशासन अरुको लागि सिकाइ हुने उल्लेख गरे ।
कार्यक्रममा विद्यालयका अध्यक्ष विष्णु प्रसाद पोखरेलले शिक्षालाई प्रचारबाजि र अतिरञ्जित बनाउन नहुने भन्दै गुणस्तरीय शिक्षाको लागि विद्यालय अग्रसर रहेको बताए । उनले देवदहको शैक्षिक विकासको लागि सरोकारवालाहरु विच हातेमालो आवश्यक रहकोमा जोड दिए ।
कक्षा ११÷१२ मा ग्रिनप्लान्टले होटल म्यानेजमेन्ट, फाइनान्स र कम्प्युटर साइन्स विषय पढाउँदै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology