देवदह । संघीय आयोजना कार्यान्वयन गर्न प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले स्थानीयस्तरमा सहजीकरण समिति गठन गरेका छन् । आइतवार देवदहमा सर्वपक्षीय बैठकको आयोजना गर्दै सांसद विश्वकर्माले नगरभित्रका संघीय आयोजना कार्यान्वयन गर्न नगर प्रमुख ध्रुवप्रसाद खरेलको संयोजकत्वमा सहजीकरण समिति बनाए ।
नगरपालिकाको सभाहलमा आयोजित बैठकमा बोल्दै उनले आयोजनामा आर्थिक व्यवस्थापन गर्नुभन्दा त्यसको कार्यान्वयन गर्नु चुनौतिपूर्ण बनेको बताए । समयमै आयोजना ठेक्कामा नजाने, ठेक्कामा गएका आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुने तथा राजनीतिक तथा सामाजिक रूपमा अनेक अफ्ठ्यारा आउने गरेकोले सहजीकरण आवश्यक रहेको सांसद विश्वकर्माले बताए ।
गत आर्थिक वर्षमा देवदहका दुई वटा आयोजना फ्रीज भएको उल्लेख गर्दै सांसद विश्वकर्माले निरन्तर रुपमा लागेर आयोजनाको सही कार्यान्वयन गर्न नगरपालिकाले भूमिका खेल्नुपर्ने बताए ।
देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले आयोजना कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले अन्तिममा आएर ठेक्कामा लगाउने र आयोजना अलपत्र पार्ने कार्य नगर्न कार्यान्वयन इकाइका प्रतिनिधिको ध्यानाकर्षण गराए ।
कार्यक्रममा बोल्दै संघीय आयोजना कार्यान्वयन इकाई भैरहवाका प्रमुख इन्जिनियर सुशिल रसाइलीले अबको दुई महिनामा आयोजना ठेक्कामा लैजाने गरी काम भएको बताए । उनले प्राविधिक काम दुई महिनामा सकेर कार्यान्वयनको प्रक्रियामा जाने योजना सुनाए ।
संघीय आयोजना परेका वडा नं २, ५, १० र ११ का वडा अध्यक्षहरुले बजेट विनियोजनको लागि संघीय सांसद विश्वकर्मालाई धन्यवाद दिंदै सबैको सहयोगमा काम गर्न आफुहरु तत्पर रहेको बताए ।
चालु आर्थिक वर्षमा तीन करोडभन्दा बढीका आयोजनालाई संघीय आयोजना मानिएको छ । तीन करोडभन्दा कम रकमका आयोजना प्रदेश वा स्थानीय तहमा पठाउने तर तीन करोड वा सो भन्दा माथिको आयोजना संघीय आयोजना कार्यान्वयन इकाईबाट कार्यान्वयन गर्ने राष्ट्रिय योजना आयोगको निर्णय अनुसार सरकारले आयोजना कार्यान्वयनको काम अघि बढाएको छ ।
चालु आर्थिक वर्षमा देवदहमा संघीय आयोजना दुई वटा परेका छन् । दुई वटा आयोजनालाई टुक्र्याएर वडा नं २, ५, १० र ११ मा कार्यान्वयन गरिनेछ । जसमा तीन करोड रुपैयाँ वडा नं २ र ५ मा बाडिने छ । वडा नं २ मा जीवन विज्ञान प्रयोगशालाको भवन निर्माणमा एक करोड ५० लाख खर्च गरिने छ भने वडा नं ५ स्थित 'सहिद नरबहादुर नेपाली' पानबारी रंगशालामा बाँकी एक करोड ५० लाख लगानी गरिने छ ।
त्यसैगरी अर्को तीन करोड देवदह १० र ११ मा खर्च गरिने छ । जसअनुसार एक करोड ५० लाख रुपैयाँ भलुही-चरंगे सडक निर्माणमा लगानी हुनेछ भने अर्को एक करोड ५० लाख रुपैयाँ रामपुर-रेहरा-कदमीपुर सडक निर्माणमा प्रयोग गरिने छ ।
बैठकमा बोल्दै नगर प्रवक्ता समेत रहेका देवदह-५ का वडा अध्यक्ष गणेश डुम्रेले पानवारी खेलमैदानको गुरुयोजना अनुसार काम गरिनुपर्ने बताए । उनले खेलमैदानको संरक्षणमा स्थानीय सरकारले काम गरिरहेको उल्लेख गर्दै तारबारदेखि सडक पूर्वाधार हुँदै गुरुयोजना अनुसार कामलाई प्राथमिकीकरण गरिनुपर्ने विचार व्यक्त गरे । त्यसैगरी वडा नं २ का वडा अध्यक्ष दलबहादुर राकस्कोटीले जीवन विज्ञानको भवनसंगै अन्य पूर्वाधारका क्षेत्रमा पनि काम गर्नुपर्ने बताए । आगामी बजेटमा वडाको सडक र पुल निर्माणमा बजेट विनियोजन गर्न प्रतिनिधि सभा सदस्य विश्वकर्मालाई उनले आग्रह गरे ।
वडा नं १० का वडा अध्यक्ष यकबहादुर सुनारले सडक निर्माणको कार्य तत्काल अघि बढाउँन आग्रह गरे । सडक विस्तार गर्दा केही घर बीचमा पर्ने भएकोले सबैको सहयोग आवश्यकता रहेको उनले बताए । त्यसैगरी वडा नं ११ का वडा अध्यक्ष रहेका दुधनाथ यादवले रेहरा सडकले वडाको मुहार फेर्ने बताए । उक्त ठाउँमा आजसम्म पिच सडक नै हुन नसकेको उल्लेख गर्दै यादवले आयोजना कार्यन्वयनको लागि आफु तयार रहेको बताए ।
देवदहमा गठन भएको संघीय योजना कार्यान्वयन सहजीकरण समिति नगर प्रमुख ध्रुव प्रसाद खरेल संयोजक छन् । जसको सदस्यमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रे, वडा नं २, १० र ११ का अध्यक्षहरु क्रमश: दलबहादुर राकस्कोटी, यकबहादुर सुनार, दुधनाथ यादव, नगर खेलकुद विकास समिति संयोजक कमल पाण्डे, देवदह खानेपानी महासंघका अध्यक्ष गुमानसिं कुँवर, देवदह जीवन विज्ञान प्रयोगशालाका संयोजक नमकान्त पाण्डे, प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माका स्वकीय बेद गिरी र नगरपालिका पूर्वाधार विकास शाखा प्रमुख राजकुमार यादव सदस्य रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology