अर्घाखाँची । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सन्धिखर्कस्थित कार्यालय बुटवल सार्ने निर्णयको विरोधमा अर्घाखाँचीका आठ राजनीतिक दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
संघीयतापछि गुल्मी, पाल्पा र अर्घाखाँचीलाई कार्यक्षेत्र बनाई सन्धिखर्कबाट सेवा दिँदै आएको आयोजनालाई संघ सरकारले बुटवलमा गाभ्ने निर्णय गरेको हो ।
जिल्लामा रहेका सम्पूर्ण राजनैतिक दलहरूले संयुक्त रूपमा ज्ञापनपत्र पठाउँदै आयोजनालाई अर्घाखाँचीमै कायम राख्न माग गरेका छन् । उनीहरूले कार्यालय सरेपछि जिल्लामा सञ्चालनमा रहेका बहुवर्षीय खानेपानी योजना अलपत्र पर्ने र संघीयताको मर्म विपरीतको निर्णय भएको बताएका छन् ।
सन्धिखर्कस्थित आयोजनाले अर्घाखाँची, गुल्मी र पाल्पामा करिब दुई सय खानेपानी योजना सञ्चालन गर्दै आएको छ । तीन जिल्लाका ३४ हजारभन्दा बढी घरधुरीका करिब १ लाख ६० हजार उपभोक्ता लाभान्वित हुँदै आएका छन्। हाल अर्घाखाँचीमा ४४, गुल्मीमा ४५ र पाल्पामा ३४ गरी १२३ वटा योजना सञ्चालनमा छन् ।
मंगलबार कांग्रेस सचिव कृष्ण खनाल, एमाले उपाध्यक्ष शम्भु पोखरेल, माओवादी केन्द्र इन्चार्ज ठाकुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हरिप्रसाद भुसाल, नेकपा एसका अध्यक्ष रामबहादुर चौहान, राजमो अध्यक्ष थम्मन केसी, जसपाका नेत्रलाल थापामगर र राप्रपाका विनोद आचार्यले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology