काठमाडौँ । । गाजासिटीको दक्षिणी क्षेत्र जाइतुन (Zeitoun) मा निरन्तर इस्रायली हवाई आक्रमण र तोप आक्रमणका कारण हजारौँ बासिन्दा घर छोडेर भागेका छन् । गाजाको हमास–नियन्त्रित नगरपालिकाले यसलाई "विनाशकारी" अवस्था भएको बताएको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिबार मात्रै इस्रायली आक्रमणबाट कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
इस्रायली सेना (IDF) ले सहायता संस्थाहरूलाई पुनः टेन्ट ल्याउन अनुमति दिने घोषणा गरेको छ । इस्रायलले गाजासिटीबाट करिब १० लाख मानिसलाई दक्षिणतर्फका शिविरमा जबर्जस्ती सार्ने योजना अघि सारेको छ ।
यता इजरायलमै भने सरकारको गाजासिटी कब्जा गर्ने निर्णयविरुद्ध प्रदर्शन चर्किएको छ । आइतबार एकदिने आमहड्ताल गर्ने घोषणा भएको छ । यो कदम बन्धक परिवार र नागरिक समूहहरूले माग गरेका हुन् । उनीहरूको भनाइमा, युद्ध विस्तार गर्दा हमासको कब्जामा रहेका इस्रायलीहरूको जीवन अझ बढी जोखिममा पर्छ । गत साता मात्र इस्रायलको युद्ध मन्त्रिपरिषद्ले गाजासिटी कब्जा गर्ने र त्यहाँका जनतालाई विस्थापित गर्ने निर्णय गरेको थियो, जसलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले निन्दा गरेको छ ।
इस्रायली प्रशासनिक निकाय कोगाट (Cogat) ले भने, "जनतालाई युद्ध क्षेत्रबाट दक्षिण गाजातर्फ सार्ने तयारीका लागि टेन्ट र आश्रय सामग्री आपूर्ति पुनः सुरु गरिनेछ" भनी जनाएको छ । तर नगरपालिकाका प्रवक्ताले भने जाइतुनमा छ दिनदेखि निरन्तर हवाई आक्रमण, तोप बर्साइ र ध्वंसात्मक अभियानले नै ठूलो संख्यामा विस्थापन भइरहेको बताए । करिब ५० हजार मानिस बसोबास गर्ने उक्त क्षेत्रमा खानेपानी र खाद्यान्नको गम्भीर अभाव भएको पनि नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।
अत्यधिक आक्रमणका कारण गाजासिटीको ८० प्रतिशत पूर्वाधार ध्वस्त भएको र बाँकी रहेका चार अस्पताल पनि औषधि तथा उपकरणको अभावमा २० प्रतिशत क्षमतामात्र सञ्चालन भइरहेको जनाइएको छ । संयुक्त राष्ट्रसंघका अनुसार गाजाको ९० प्रतिशत अर्थात् करिब १९ लाख मानिस विस्थापित भएका छन् ।
स्रोत :BBC
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology