काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकोले मनसुन सामान्य रूपमा कमजोर देखिए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर भित्रिरहेको छ ।
हाल कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भू-भागमा सामान्यतया बदली छ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भू-भागमा सामान्यतया बदली र अन्य भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यस अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी भू-भागका केही स्थानहरूमा र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि महाशाखाले जनाएको छ ।
कोशी र कर्णाली प्रदेशका पहाडी भू-भाग तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology