देवदह । 'गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता' यो नेपालका सबै विद्यालयको साझा नारा हो । तर समयसंगै धेरै विद्यालयले आफ्नो स्लोगन संशोधन गरेर 'संस्कारसहितको गुणस्तरीय शिक्षा' बनाएका छन् । यद्यपि स्लोगन अनुसार काम भएको भने कमैमात्र देखिन्छ । धेरैजसो विद्यालयहरु परिक्षामुखी छन् । कतिपय अवस्थामा परिक्षा सेन्टर नै प्रभावमा पारेर विद्यार्थी उत्तीर्ण गराउने होडमा समेत विद्यालयहरू लागेको पाइन्छ ।
तर देवदह-७ शितलनगरस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयले भने व्यवहारमै सिकाइलाई संस्कारसंग जोड्ने तयारी गरेको छ । विद्यार्थीहरुमा योग र ध्यान मार्फत व्यवहार परिवर्तन गराउने र सकारात्मक सोचको विकास गराउने उद्धेश्यले विद्यालयमै 'ध्यान' प्रशिक्षण संचालन गर्ने तयारी गरिएको विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
'शिक्षा प्रणालीमा नैतिकता र संस्कारलाई जोड्नु अपरिहार्य भैसक्यो ।' प्राचार्य पौडेलले भने, 'अब ग्रेडको मात्रै पछि लागेर हुदैन । हामी विद्यार्थीलाई ध्यान पनि सिकाउँछौं ।'
सगरमाथाले ध्यान कक्षा संचालनको लागि लुम्बिनीस्थित थाई मोनेस्ट्रीसंग सहकार्य गरेको छ ।
बिहिवार थाई मोनेस्ट्रीका भिक्षुहरूले विद्यालय भ्रमण गरेको र ध्यानको लागि आवश्यक सरसफाई र शान्त वातावरण भएको हुनाले कक्षा संचालन गर्न सकिने बताएको विद्यालयले जनाएको छ ।
भ्रमणको क्रममा भएको छलफलमा सहभागी भिक्षुहरूले ध्यानलाई केवल मानसिक शान्ति र आत्मअनुशासनको अभ्यास मात्र नभई विद्यार्थीलाई संस्कारी र जिम्मेवार नागरिक बनाउन सक्ने प्रभावकारी उपायका रूपमा व्याख्या गरे ।
भिक्षुहरुको विद्यालय भ्रमणमा विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेल, अध्यक्ष डिल्लीराज मरासिनी, यशोधारा भिक्षुणी विहारका अधिपति 'उपेखा गुरुमा' लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology