देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा गठित जुनियर युवा रेडक्रस सर्कलले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ‘कुशे औँसी’ अर्थात् बाबुको मुख हेर्ने दिनलाई अवसर पारी आयोजना गरिएको कार्यक्रममा कक्षा ४ देखि ९ सम्मका विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेले रेडक्रस मानवताको खम्बा भएको उल्लेख गरे । मानवता र मानव जीवनको अभिन्न अंग बनेको रेडक्रसले ‘कुशे औँसी’मा गरेको कार्यक्रमले संस्कार र पहिचान बिर्सिँदै गएको समाजलाई सकारात्मक सन्देश दिने उनले बताए । प्रिन्सिपल गैरेले गत वर्ष नगर र जिल्लास्तरमा प्रथम बनेको उल्लेख गर्दै बुद्ध पब्लिक जुनियर रेडक्रस सर्कल प्रदेश हुँदै राष्ट्रसम्म चम्किने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा जुनियरतर्फ कक्षा ४ का सिग्मा प्रतीक थापा प्रथम भएका छन् । कक्षा ४ सिग्माकी प्राश्ना आर्याल द्वितीय, कक्षा ४ बिटाकी अनुष्का पौडेल तृतीय र कक्षा ६ बिटाकी विलिशा आचार्यले सान्त्वना भएकी छन । सिनियरतर्फ कक्षा ९ अल्फाकी विशेषता तिवारी प्रथम भइन् । कक्षा ८ डेल्टाका कौशल मरासिनी द्वितीय, सोही कक्षाकी सोफिया न्यौपाने तृतीय र कक्षा ९ अल्फाकी सुप्रिया बिक सान्त्वना भएकी छन् ।
शिक्षक अनन्तराम भण्डारी संयोजक र दुर्गा ढुङ्गाना सदस्य रहेको समितिले प्रतियोगीको मूल्यांकन गरेको थियो ।
जुनियर युवा रेडक्रस सर्कलकी अध्यक्ष अनुष्का भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रिन्सिपल वेद सूर्यवंशी, रोशी गुरुङ, माध्यमिक इन्चार्ज मुक्ति विश्वकर्मा, प्रा.वि इन्चार्ज अञ्जना वली, पूर्व इन्चार्ज अस्मिता गुरुङ, प्रिप्राइमरी इन्चार्ज मनमाया रूचाल, अतिरिक्त क्रियाकलाप प्रमुख तथा रेडक्रस शिक्षक ढुण्डिराज मरासिनी, खेल संयोजक बलराम ज्ञवालीलगायत शिक्षककर्मीको उपस्थिति रहेको थियो ।
सचिव ग्रीष्मा खरेल र सहसचिव कौशल मरासिनीले सञ्चालन गरेको कार्यक्रममा परिना गैरेले स्वागत मन्तव्य दिएकी थिइन् भने कोषाध्यक्ष विशेषता तिवारीले संयोजन गरेकी थिइन् । उपाध्यक्ष सुजल रानाले कार्यक्रम समापन गर्दै धन्यवाद ज्ञापन गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology