दिवसै दिवसमध्यको अर्को एक पर्व
मुटु कमाउने जनयुद्ध र
कहाली लाग्दो जनान्दोलनले
राजाको प्रत्यक्ष शासन अन्त्य गराउँदै
जनताको स्वर्णिम युग शुरु भएको दिन
हो महाशय
त्यो हो लोकतन्त्र दिवस ।
ठूलो आशा र भरोसा गरेको लोकतन्त्र
अलोकतन्त्र पो बन्यो कि ?
हजारौंको बलिदानीबाट प्राप्त लोकतन्त्र
आलोचित पो भयो कि ?
देशभित्र न्यायको चीत्कार लगाएकी चेली
पर्देशमा उद्वारको पुकार लगाएको भाई
भोको पेटले गिज्याएको फोटोले
अखबारको पाना रंगिएको दिन
हो महाशय
त्यो हो लोकतन्त्र दिवस ।
उस्तै छन वर्गिय असमानताका खाडलहरु
उस्तै छन् जातिय र लिंगिय विभेदहरु
उस्तै छन सामन्ती र निरंकुशताका अवशेषहरु
बिदेशिने पाईलाहरु रोकिएका छैनन्
उदासिने साईलिहरु नरोएका होईनन
क्यालेन्डरको पन्नामा
एकथान दिवस थपिएको दिन
हो महाशय
त्यो हो लोकतन्त्र दिवस ।
स्याल राजा बनेको भनौं वा
बिरालोलाई दुधको पाले राखेको भनौं
गर्व मै ५२ हजार
रास्ट्रीय ॠण बोकेएर जन्मिएको नेपाली
युवायुवती बेचेर रेमिटान्समा गर्व गरेको मेरो देश
जागिरेलाई अर्को सरकारी बिदा थपिएको दिन
हो महाशय
त्यो हो लोकतन्त्र दिवस
त्यो हो लोकतन्त्र दिवस ।
✍️ रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology