बुटवल । रुपन्देहीका निजी विद्यालय संचालकहरुले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा निजी विद्यालयको हितविपरीत प्रावधान रहेको भन्दै अन्तरक्रिया गरेका छन् ।
बुधबार बुटवलमा आयोजित कार्यक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनका प्रतिनिधिहरूले संयुक्त रूपमा विधेयकविरुद्ध धारणा राख्दै ऐक्यबद्धताको आह्वान गरे । उनीहरूले करिब ५४ वर्षपछि बन्न लागेको नयाँ शिक्षा ऐन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने सट्टा निरुत्साहित गर्ने खालको भएको बताए ।
निजी विद्यालय संचालकहरूले हालको शिक्षा विधेयकले निजी विद्यालयलाई कमजोर पार्ने उद्देश्य राखेको आरोप लगाएका छन् । उनीहरूले कम्पनी ऐनअन्तर्गत दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान, पूर्ण छात्रवृत्ति अनिवार्य गर्ने व्यवस्था, पोसाक, पाठ्यपुस्तक, यातायात, खाजा लगायतका सेवा सञ्चालनमा नियन्त्रण गर्ने प्रावधान, छात्रवृत्ति वितरण अधिकार स्थानीय तहलाई दिने व्यवस्था जस्ता बुँदाहरूलाई अस्वीकार्य बताउँदै ती प्रावधान तत्काल खारेज गर्नुपर्ने माग राखे ।
कार्यक्रममा बोल्ने सरोकारवालाहरूले निजी शिक्षालयहरूले विगत चार दशकदेखि देशको शिक्षा विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको स्मरण गराए । शिक्षा क्षेत्रमा निजी क्षेत्रको करिब ८ खर्ब रुपैयाँ लगानी र झण्डै ५ लाख रोजगार सिर्जना गरेको उनीहरूको दावी छ । उनीहरुका अनुसार, कुल संख्याको ३४ प्रतिशत विद्यार्थीलाई गुणस्तरीय शिक्षा, वार्षिक २ खर्बभन्दा बढी आर्थिक चक्रमा योगदान र देशको कुल गार्हस्थ उत्पादनमा ७.२ प्रतिशत योगदान निजी शिक्षालय क्षेत्रले पुर्याइरहेको छ ।
वक्ताहरूले विधेयक यथावत् रहेमा हजारौं विद्यालय बन्द हुने, हजारौं शिक्षक रोजगारी गुमाउने र शिक्षा क्षेत्र नै अस्तव्यस्त हुने चेतावनी दिए । उनीहरूले राज्यले निजी क्षेत्रलाई व्यवस्थित र नियमन गर्नुपर्नेमा नियन्त्रण गर्ने सोच राखेको आरोप लगाउँदै भने, “यदि यो विधेयक संशोधन भएन भने हामी बाध्यतावश कडा आन्दोलनमा उत्रनु बाहेक विकल्प हुँदैन ।”
कार्यक्रममा सहभागीहरूले संविधानले सुनिश्चित गरेको पेशा, व्यवसाय र लगानीको सुरक्षाविरुद्ध नीति ल्याउने कार्य लोकतान्त्रिक अभ्यासको अपमान भएको भन्दै सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिए ।
प्याब्सन रुपन्देही जिल्ला अध्यक्ष दीपक खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका हरी अर्याल, पुस्तक तथा स्टेशनरी व्यवसायी संघका बालाकृष्ण भण्डारी, नेपाल अभिभावक संघका लोकनाथ ज्ञवाली, नेपाल पत्रकार महासंघका रामराज पोख्रेल र दिनेश पाण्डेयसहित होटल व्यवसायी संघ, वस व्यवसायी संघ, यातायात मजूर भलाई कोष, मेडिकल व्यवसायी संघ लगायतका प्रतिनिधीहरूले संघर्षमा ऐक्यबद्धता जनाए ।
कार्यक्रमको संचालन प्याब्सन जिल्ला सचिव बोधराज गौडेलले गरेका थिए भने नेशनल प्याब्सन जिल्ला अध्यक्ष बाबुराम बन्जाडेले स्वागत मन्तव्य राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology