देवदह । देवदह नगरपालिका–७ मा बसोबास गर्ने एक असहाय महिलाको घर निर्माणका लागि स्थानीय युवाहरू जुटेका छन् । लामो समयदेखि अधुरो अवस्थामा रहेको घरमा बस्दै आएको परिवारलाई राहत प्रदान गर्न घर निर्माण अभियानमा जुटेको युवाहरूले जनाएका छन् ।
सात वर्षअघि श्रीमानको निधनपछि दुई छोरीसहित असहाय बनेकी ती महिला अहिले पनि दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी छन् । उनका दुई छोरीहरू विद्यालय तहमा अध्ययन गरीरहेका छन् ।
सरकारको फुसको छानो विस्थापन कार्यक्रमअन्तर्गत २०७८ सालमा जस्ता पाता हालिएको भए पनि घरको बाँकी काम अधुरो अवस्थामा नै थियो ।
स्थानीय युवाहरू चन्द्रकान्त खराल (ध्रुव), अर्जुन गैरे, सुरेन्द्र गुरुङ लगायतले घर निर्माण अभियान संचालन गरिरहेको जनाइएको छ ।
घर निर्माण गर्न २ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको र सो को लागि सहयोग संकलन गर्ने कार्यसमेत जारी रहेको स्थानीय युवा अर्जुन गैरेले जानकारी दिए ।
यसअघि पनि उनीहरूले देवदह–७ मदनग्राममा वृद्धा आमा लिलावति क्षेत्रीको घर पुनर्निर्माण गरेर दशैंमा हस्तान्तरण गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology