बुटवल । बुटवल–७ दीपनगरमा रहेको सन्दुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभालाई सम्बोधन गर्दै जिल्ला बचत संघ रुपन्देहीका अध्यक्ष बसन्त ढकालले सहकारीको साधारणसभा भनेको सहकारी सदस्यहरूको पर्व हो भन्ने धारणा राखे । उनले सन्दुक सहकारीले उद्यमशीलतालाई प्राथमिकतामा राख्दै महिलाको सहभागिता र नेतृत्वमा समेत समान अवसर सुनिश्चित गरेको देख्दा खुसी लागेको बताए । तर, उनले सहकारी अनुगमनको पाटो कमजोर भएकाले कतिपय सहकारीमा बेथिति मौलाएको भन्दै सदस्यहरूले आफ्नै सहकारीबारे सचेत हुनुपर्नेमा जोड दिए ।
बुटवल उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सुनिता खड्लुकले पछिल्लो समय सहकारी क्षेत्रमा राम्राभन्दा पनि नकारात्मक समाचार बढी आउन थालेको भन्दै गुनासो गरिन् । उनले ऋण लगानीलगायतका काममा सहकारीहरूले ध्यान दिन सके संस्थालाई कमजोर भन्नु नपर्ने टिप्पणी गरिन् ।
कार्यक्रममा सहकारीका पूर्वअध्यक्ष तथा सल्लाहकार मनोज गौचनले युवा समूहले सञ्चालन गरेको सहकारीमा जेष्ठ नागरिकहरूले समेत विश्वास गरिरहेको उल्लेख गर्दै सहकारीले अनुशासित ढंगले काम गरिरहेको दाबी गरे । सहज सहकारीका उपाध्यक्ष कमलप्रताप भुसालले उद्यमशीलतालाई प्राथमिकता दिने निर्णयप्रति सन्तोष व्यक्त गरे ।
साधारणसभामा अध्यक्ष सोमबहादुर खातीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष अर्जुन गिरीले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक सागर भुसालले लेखा परीक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो ।
सो अवसरमा जेष्ठ सेयर सदस्य दुईजना र प्लस टुमा उत्कृष्ट जिपीए ल्याउने सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । सहकारीमा ३१७ महिला र २६३ पुरुषसहित ५८० जना सेयर सदस्य रहेका छन् । सहकारीको कुल सेयर पूँजी ७६ लाख पुगेको छ भने बचत निक्षेप ३ करोड ७९ लाख ३८ हजार र ऋण लगानी ३ करोड ३५ लाख रहेको छ ।
सहकारीले सेयर सदस्यको घरमा मानवीय क्षति भएमा तीन महिनासम्म रु ५० हजारसम्म बिना ब्याज लगानी गर्ने र सदस्यको मृत्यु भएमा क्रियाखर्चका लागि रु २५ हजार उपलब्ध गराउने व्यवस्था गरेको छ । साथै, सदस्यहरूको रु २ लाख बराबरको बीमा गर्दै आएको र विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने परम्परा रहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology