काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेको छ । माओवादीले जेन–जी आन्दोलनका क्रममा सरकारले प्रदर्शनकारीमाथि गरेको गोली प्रहारलाई ‘नरसंहार’ भनेको छ ।
‘जनतासँग माओवादी : मध्यपहाडी पुष्पलाल लोकमार्ग–जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्री ओलीले अब राजीनामा दिएर राजनीतिक वातावरण सहज बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।
माओवादी नेताहरूले सरकारले आन्दोलनकारी मात्र नभई ताकी–ताकी गोली प्रहार गरेर १५ जनाको ज्यान लिएको भन्दै घटनालाई नरसंहारको संज्ञा दिएका छन् । यस घटनापछि माओवादीले जारी अभियान स्थगित गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू काठमाडौं फर्किने तयारी गरेका छन् ।
माओवादी नेता माधव सापकोटाले सरकारको रवैया अराजनीतिक र अमानवीय भएको बताउँदै भने, “सरकारले हत्या मात्र गरेको छैन, नरसंहार गरेको छ । प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिएर वातावरण सहज बनाउन सहयोग गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।”
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology