काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । आयोगले प्रदर्शनअघि नै उच्च सुरक्षा तयारीका नाममा कठोर कदम चाल्नुभन्दा पनि थप क्षति हुन नदिन र आन्दोलनलाई शान्तिपूर्ण ढंगले सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले भनेको छ - 'पछिल्लो पुस्ताले उठाएका आवाजलाई समयमै र यथोचित रूपमा सम्बोधन गर्नु लोकतान्त्रिक शासन प्रणालीको मूल आधार हो ।'
मृत्यु भएका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्नुपर्ने र घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने आयोगले जनाएको छ ।
त्यस्तै, प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित राख्ने जिम्मेवारी प्रदर्शनरत पक्षकै पनि हुने भएकाले त्यसतर्फ सचेत रहन आयोगले आग्रह गरेको छ ।
‘नेपालको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन बमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रूपमा आफ्ना विमति राख्ने अधिकार सुनिश्चित गरिएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजलाई समयमै सम्बोधन गर्न सक्नुपर्छ । तोडफोड र आगजनीमा प्रदर्शन बदलिनु दुःखद हो, जस्तै सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु पनि उतिकै चिन्ताजनक छ ।’
आयोगले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई निर्देश गरेको छ ।