पोखरा । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले महिलाहरु पुरुषको तुलनामा दोब्बर परिश्रमी भएपनि पुरुषवादी सोंचले पछि परेको बताएका छन् । थकाली युवा परिवार नेपालद्वारा पोखरामा आयोजित प्रथम राष्ट्रिय भेला तथा नेतृत्व विकास कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशप्रमुख शेरचनले महिला नेतृत्व तहमा आउनु नसक्नु पछाडी पुरुषवादी चिन्तन जिम्मेवार रहेको बताएका हुन् ।
जिम्मेवारी दिएको खण्डमा महिलाले पनि नेतृत्व गर्न सक्ने धारणा राख्दै शेरचनले थकाली महिलाहरुलाई पनि नेतृत्व तहमा ल्याउपर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने - ‘पुरुषवादी चिन्तनका कारण महिलाहरु नेतृत्व तहमा आउन सकेका छैनन् । परिश्रमको हिसाबले हेर्ने हो भने पुरुष भन्दा महिला दोब्बर परिश्रमी हुन्छन् । अवसर नदिएर मात्रै हो जिम्मेवारी दिए महिला अगाडी आउन सक्छन् ।’
फरक प्रसंगमा बोल्दै शेरचनले थकाली युवाहरुले राष्ट्रको हितमा योगदान दिनुपर्ने सुझाव पनि दिनुभएको थियो ।
फरक प्रसंगमा बोल्दै प्रदेश प्रमुख शेरचनले राष्ट्रियता विना कुनै पनि समुदायको पहिचान र अस्तित्व नरहने धारणा राखे । सबैले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिंदै उनले राष्ट्रियता विना सामाजिक पहिचान रहन नसक्ने बताए । यदि नेपाल नै रहेन भने हामी नेपाली कहाँ रहन्छौं भन्दै शेरचनले भने - 'राष्ट्रियता विना हामी थकाली हुन सक्दैनौ । त्यसैले युवाहरु राष्ट्रको हितमा लाग्नुस ।’
सोही कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले थकालीहरुको जनसँख्या पछिल्लो समय झन न्यून भएको बताउदै एकताको सुत्रमा बाधिनुपर्ने आवश्यक रहेको औल्याए ।
थकाली समुदाय सम्पन्नताको हिसाबले अगाडी रहेको बताउदै पहुँचको क्षेत्रमा पनि अग्रसर हुनुपर्ने उनको भनाइ थियो । उनले अगाडि भने - ‘सान सम्पत्तीबाट मात्रै हुन्न चिन्तन र विचारबाट हुन्छ, ‘सम्पत्तिले खुशी दिन्न दु:खी बनाउँछ । कसैले लुट्लाकी भन्ने डर हुन्छ । कतै हत्या गर्छ कि भन्ने त्रास हुन्छ । त्यसैले खुशी विचारले मिल्छ ।’
राष्ट्रिय भेलासँगै पाँच दिन चल्ने नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रममा देशभरका १६ क्षेत्रका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । महेश दाहालले सहभागीहरुलाई प्रशिक्षण दिने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology