काठमाडौं । भेरी अंचल अस्पतालमा बाहिरी जिल्लाका एक सय ३ जना र जिल्ला भित्रका ८५ जना बिरामीको मृत्यु भए पछि र संक्रमित दैनिक बढ्न थालेपछि बाँके प्रशासनले सुचना जारी गर्दै जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी २० गते राति १२ बजेसम्म जिल्लाभरि लकडाउन हुने सुचनामा जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ ।
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवा एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षा र हवाईसेवा सञ्चालन गर्न पाइनेछ ।
यस्तै एम्बुलेन्स, दमकल, शबवाहन, कुटनैतिक नियोगका गाडी, लामो दुरीका सवारी, माल वाहक गाडी, निर्माण सामग्री ढुवानीका साधनहरु, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्ति बोकेका सवारी तथा अनुमती (पास) प्राप्त सवारी चल्न पाउनेछन ।
यो भन्दा पहिले बाँकेमा कोरोना संक्रमित एक्कासी बढ्दा स्थानीय प्रशासनले ८ गते रातिदेखि १५ गते रातिसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्रै बन्दाबन्दी गरेको थियो ।
यस्तै नवलपुरको कावासोतीस्थित विद्यालयहरु पाँच दिनका लागि बन्द हुने भएका छन । विद्यार्थीलाई कारोना देखिएपछि पाँच दिन शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय नगरपालिकाले गरेको हो ।
बालबालिकाहरुमा कोरोनाको जोखिम बढेको कारण सोमबारदेखि आगामी शुक्रबारसम्म कावासोती नगरपालिका भित्रका सबै शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।
यसैबीच दोस्रो लहरको काेराेना संक्रमण फैलिँदै गएपछि सरकारले सबै तहकाे परीक्षा स्थगन गर्ने भएको छ। आइतबार बसेकाे कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगित गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology