गुल्मी । नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिल्धवज पन्थीले मन्त्रीकाे आफ्नै गाउँपालिकामा पनि विकास नहुनु लज्जास्पद भएको बताएका छन् । जिल्लाकाे इस्मा गाउँपालिका वडा नम्बर ६ अम्मरपुरमा नेपाली काङ्ग्रेस गुल्मीले संचालन गरेको 'गुल्मी काङ्ग्रेसको अठोट : सबल वडा सक्षम टाेल' अभियानको उद्घाटन गर्दै नेपाली काङ्ग्रेस गुल्मीका सभापति पन्थी मन्त्रीकाे आफ्नै गाउँपालिकामा पनि विकास नहुनु लज्जास्पद भएको बताएका हुन् ।
सभापति पन्थीले गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गाेकर्ण बिष्टलाई लक्षित गर्दै मन्त्रीकाे गाउँ इस्मामा पनि विकास नभएको कुरालाई लक्षित गरेका थिए । दाजु गाउँपालिकाका अध्यक्ष अनि भाइ मन्त्री बनेपछि इस्मामा विकासकाे केही कमी नहाेला भन्ने आशा आफूले गरेको भन्दै नेपाली काङ्ग्रेस जिल्ला सभापति पन्थीले स्वास्थ्य र शिक्षाको अभावमा त्यहीँ गाउँका नागरिक तड्पिएकाे बताए । यस क्षेत्रबाट पटकपटक मन्त्री बनेपनि अम्मपुरकाे विकास र मुहार नफेरिएकाे उनले बताएका छन् ।
'गरिबले बिरामी हुदाँ उपचार नपाएर बिचल्ली हुन्छ, सामान्य खालको शिक्षा नपाएर भारत छिर्छन् ।' जिल्ला सभापति पन्थीले भने, "तपाईं हामीले जिताएर पठाएका सांसद मन्त्री बनेपछि हामी जनताकाे लागि के गर्नुभयो ?' पन्थीले अब मत माग्न आउँदा उहाँलाई प्रश्न गर्न समेत आग्रह गरे । पटकपटक मन्त्री भएर पनि एउटा सामान्य सडकमा पुल बनाउन नसक्ने बिषय लज्जास्पद भएको पन्थीकाे भनाइ छ । नेपालमा कम्युनिस्ट पार्टीले जनताको हितमा काम गर्न नसक्ने र सरकार चलाउन पनि नसकेको उनलेे बताएका थिए । अहिले तम्घास-सिमलटारी खण्डको सडकमा नेपाली काङ्ग्रेस जिल्ला सभापति पन्थीकाे पहलमा पक्की पुल बन्न सुरु गरेका छन् ।
कार्यक्रममा प्रतिनिधिका रुपमा खटिएका नेपाली काङ्ग्रेस गुल्मीका सचिव भगत सिंह खड्काले अम्मरपुरकाे ठाउँ अथाह सम्भावना बाेकेकाे ठाउँ भएपनि यसको प्रयाेग हुन नसकेको बताए ।'राङदालबाट माटाका भाँडाहरु बनाएर स्वदेश तथा बिदेश निर्यात गर्न सकिन्छ ।' जिल्ला सचिव खड्काले भने, "स्थानीय सरकार बनेपछि इस्मामा केही नयाँ र नाैला कार्यक्रम हुन सकेनन् ।" उनले अम्मरपुरकाे राङ्दालमा बन्न थालेको अन्तर्राष्ट्रिय खेल मैदान अलपत्र पर्नुले स्थानीय सरकारलाई गिज्याइरहेकाे बताए ।
पक्की सडक बनेको राजमार्ग अन्तर्गतका खाेलाहरुमा पुल नबन्नाले काेराेनाका बिरामीकाे मृत्युु भएको बताउँदै उनले इस्मा ठेगाना भएका माननीयहरु काम नगर्ने तर गफ गर्न माहिर रहेको बताएका थिए ।
अम्मरपुर वडा सभापति ढाल बहादुर कुँवरले आफ्नो वडामा संगठन बलियो बनाउन निरन्तर प्रयास गरिरहेकाे बताए । कम्युनिस्टबाट जनतालाई मुक्ति दिलाउन अहिले अम्मपुरमा नेपाली काङ्ग्रेसलाई विजयी बनाउन आफू निरन्तर खटिने सभापति कुँवरले बताए । उक्त कार्यक्रमकाे संचालन रेशम कुँवरले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology