काठमाडौं । नेपालमा सदियोंदेखि जरा गाडेर बसेको हिन्दु बौद्ध एकता र सद्भावलाई कमजोर पार्ने उद्देश्यसहित गुम्बाहरूमा हतियार लुकाएर राखिएको छ भन्ने भ्रामक र आधारहीन आरोप फैलिएको भन्दै हिन्दू तथा बौद्ध समाजले कडा आपत्ति जनाएको छ ।
आज संयुक्त रूपमा जारी विज्ञप्तिमा बौद्ध तथा हिन्दू गुरुहरूले पवित्र धार्मिक स्थल गुम्बालाई हतियार भण्डारणको स्थलजस्तो प्रस्तुत गर्ने अभिव्यक्ति कपोलकल्पित, मनगढन्ते र बौद्ध आस्थामाथिको ठाडो प्रहार भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘बुद्ध जन्मिएको देश नेपाललाई बौद्ध शिक्षाको वैश्विक केन्द्र बनाउनु पर्ने बेला उल्टै यस्ता अफवाहमार्फत धर्मसमुदायबीच वैमनस्य फैलाउने प्रयास भइरहेको छ, जसले दीर्घकालीन सद्भाव खल्बल्याउन सक्छ ।’
आरोप लगाउनेहरूलाई चुनौती दिँदै यदि गुम्बामा हतियार भएको ठोस प्रमाण छ भने तत्काल सार्वजनिक गर्न र प्रमाण नभए सार्वजनिक रूपमा बौद्ध समुदायसँग क्षमा याचना गर्न आग्रह गरीएको छ । माफी नमागे कानुनी कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ।
विज्ञप्तिमा गुम्बाहरूलाई शान्ति, ध्यान, शिक्षा र साधनाको केन्द्रका रूपमा परिभाषित गर्दै, त्यहाँका आन्तरिक विधि तथा अनुशासनलाई रहस्यमय भन्दै गलत प्रचार गर्ने गतिविधिको कठो र भर्त्सना गरिएको छ । हिन्दू-बौद्ध धर्मावलम्बीहरूले समाजमा साम्प्रदायिक वैमनस्य पैदा गर्ने प्रयास रोक्न सबैलाई सचेत रहन आग्रह गरेका छन्।
यसअघि सामाजिक सञ्जालमा केही व्यक्तिहरूले गुम्बामा हतियार भण्डारण भएको दाबी गरे पनि अहिलेसम्म कुनै ठोस प्रमाण प्रस्तुत गरिएको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology