झापा । झापा र इलामका चिया उद्यमीहरूले नेपाली चियालाई पूर्णरूपमा बन्देज लगाउन भारतले षड्यन्त्र सुरु गरेको आरोप लगाएका छन् ।
झापाको मेचीनगरमा आइतबार आयोजित ‘नेपाली चिया उत्पादन, प्रवर्द्धन र निकासीका समस्या’ विषयक अन्तरसंवादमा चिया उद्यमीहरूले त्यस्तो आरोप लगाएका हुन् ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले पटकैपिच्छेको भारतीय अवरोधका कारण नेपाली चिया निकासीमा समस्या पैदा हुने गरेको बताउनुभयो । ‘नेपाली चियालाई अवरोध गर्न पश्चिम बंगाल सरकार नै अग्रसर बनेको छ,’ मित्तलको आरोप छ, ‘भारतको चिया बोर्डले पनि विभिन्न बखेडा गर्दै आएको छ ।’
अहिले भारतको चिया बोर्डले उपलब्ध गराउने अस्थायी परमिटका आधारमा मात्रै नेपाली चिया निर्यात हुँदै आएको छ । नाकामा नेपाली चियाको नमुना परीक्षणको नतिजा आएपछि मात्रै बिक्रीका लागि बजार पठाउन इजाजत पाइन्छ । भारतीय रवैयाका कारण पछिल्लो समय झापाका ३० भन्दा बढी कारखानाले निर्बाध चिया निर्यात गर्न सकेका छैनन् ।
चिया निकासीमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टका प्रतिनिधि रोशन अग्रवालका अनुसार भारतको पानीटंकी भन्सारमा ठूलो चलखेल हुने गरेको छ । जसका कारण नेपाली चियाको निकासी प्रत्यक्ष प्रभावित हुँदै आएको छ । उहाँका अनुसार क्वारेन्टिन अनिवार्य छ । नमुना जाँचमा पनि समस्या छ । चिया बोर्डले दिँदै आएको सास्तीले भारतीय खरिदकर्ताले समेत चिया खरिदमा रुचि देखाउन छाडेको गुनासो नेपाली चिया उद्यमीको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology