देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्वल बोहरा (प्रशान्त) ले क्षेत्रगत विकास आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । उनले क्षेत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सिंचाई, मल अभाव लगायतका समस्या बढी भएको जनाउँदैं यस्ता समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता रहने बताए ।
उम्मेदवार बोहराले आफ्ना बुवा स्वर्गीय दीपक बोहराले विगतमा यस क्षेत्रको विकासमा भैरहवा-लुम्बिनी भूमिगत जल सिंचाई परियोजना भित्राएर, सडक सञ्जाल विस्तार गरेर र विद्यालयका भौतिक संरचना सूधार गरेर योगदान दिएको स्मरण गरे ।
दशकौं अघि बनाइएका यस्ता संरचना अहिले जीर्ण अवस्थामा पुगेको देख्दा दुःख लागेको उनले जनाए । बोहराले पछिल्ला निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुको त्यति चासो नजाँदा क्षेत्र नम्बर १ पछाडी परेको बताए । आफूले पूराना संरचनाको पुनःमर्मत र नयाँ परियोजनालाई प्राथमिकता दिएर काम गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन् ।
बोहराले अहिले आफूले क्षेत्रमा मतदाता भेटघाट गर्दै समस्याको पहिचान गरिरहेको जनाए । आफूले निर्वाचनका बेला गरेको प्रतिबद्धता र आम नागरिकबाट उठाइएका समस्या निर्वाचित भए पनि नभए पनि पूरा गर्न निरन्तर खट्ने प्रतिबद्धता जनाए ।
यो क्षेत्रमा राप्रपाको राम्रो जनाधार रहेकाले पनि आफू उत्साहित भएको उनको भनाई छ । क्षेत्रमा मतदाता भेटघाट गरिरहँदा आमनागरिकको साथ र सहयोगले दैनिक उत्साह थपिइरहेको उनको भनाई छ ।
क्षेत्र नम्बर १ लाई रुपन्देहीकै अग्रणी र विकसित क्षेत्र बनाउन सबै दल तथा स्थानीयको साथ लिएर अघि बढ्ने उम्मेदवार बोहराले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology