देवदह । रुपन्देहीको क्षेत्र नम्बर १ मा पूर्व पश्चिम राजमार्ग र दक्षिणतर्फ हुलाकी राजमार्ग बाहेक अन्यत्र व्यवस्थित सडक छैन । बर्षौं अघि बनेका कालोपत्रे भित्री सडकहरु जीर्ण भएर भत्किसकेका छन् । व्यवस्थित सडकको अभावले स्थानियबासीलाई यातायात आवागमनमा त समस्या भएकै छ । त्यो भन्दा ठूलो समस्या बिरामीलाइ उपचारका लागि अस्पताल लैजान ल्याउनमा भैरहेको छ ।
जिर्ण भई भत्केर ठूला ठूला खाडल भएका भित्री सडकमा एम्बुलेन्स सञ्चालनमा समेत निकै समस्या हुने गरेको छ । हत्तपत्त एम्बलेन्स भित्री गाँउमा आउन मान्दैनन् । स्थानिय स्तरमैं सुविधा सम्पन्न अस्पताल नहुनु र अन्यत्र टाढा लैजान सडकको दुर्दशाले गर्दा बिशेष गरी गर्भवती महिला र अन्य जटिल अवस्थाका बिरामीको उपचारका लागि धेरै समस्या पर्ने गरेको छ ।
‘यस क्षेत्रमा विकासका अन्य भौतिक पूर्वाधार सँगै स्वास्थ्यको पनि निकै समस्या रहेको र स्थानियले ठूलो कठिनाइ भोग्दै आएको मैले पाएँ’ राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रुपन्देही-१ मा उम्मेदवार रहेका नेता प्रज्वल बोहरा (प्रशान्त) ले भने, ‘मतदातासँग साक्षात्कार हुने क्रममा भित्री गाउँ र बस्तीहरुमा पुग्दा स्थानियले स्वास्थ्य उपचारमा समस्या हुने गरेको गुनासो मैले पाएँ ।’
बोहराका अनुसार, रुपन्देहीको क्षेत्र नम्बर १ मा सुविधा सम्पन्न अस्पताल कतै छैनन् । देवदहमा निजी क्षेत्रबाट सञ्चालित एउटा मेडिकल कलेज भएपनि आर्थिक रुपमा बिपन्न अवस्थाका बिरामीकालागि सरकारी स्तरबाट सञ्चालित ठूला र स्तरिय अस्पताल छैन ।
यस क्षेत्रमा स्वास्थ्य उपचारको सहज पहुँचबाट उत्तरी पूर्व पश्चिम राजमार्गसँग जोडिएका भूभागमा भन्दा भित्री ग्रामिण बस्ती र भारतीय सिमावर्ती दक्षिणी भेगका बासीन्दा बढि प्रताडित छन् ।
रोहिणी गाउँपालिकामा सरकारी स्तरबाट २५ बेडको एउटा सरकारी अस्पताल सञ्चालनमा भएपनि जनशक्ति र उपकरणको अभाव समस्याको रुपमा छ ।
‘यस क्षेत्रमा सरकारी स्तरबाट सञ्चालित स्वास्थ्य चौकीमा जनशक्ति र उपकरणको अभावले रोग पत्ता लगाउनपनि सक्ने अवस्थामा छैनन् । अल्ट्रासाउण्ड, एक्सरे, एमआरआइ, प्रयोगशाला नहुँदा बिरामीलाई भैरहवा, बुटवल जानु पर्ने बाध्यता छ ।’ बोहराले भने, ‘त्यसैले रुपन्देही १ मा सवैलाई पायक पर्ने स्थानमा एउटा सुबिधासम्पन्न अस्पतालको खाँचो छ ।’
दक्षिणी सिमावर्ती गाँउ तथा बस्तीहरुमा शिक्षा तथा जनचेतनाको समेत अभाव रहेकाले स्वास्थ्य क्षेत्रमा अझ बढि चुनौती छन् । अन्धविश्वास र कुरितीका कारण झारफुक र जथाभावी उपचार गर्नेहरुसँग स्थानियले उपचार गराउने प्रचलन व्यापक छ । जसबाट बिरामीको स्वास्थ्य थप जोखिममा पर्ने गरेको छ ।
करिव १२ किमी दुरीको हुलाकी राजमार्ग यस क्षेत्रमा छ । हुलाकी राजमार्गमा दिनहुँ दुर्घटना हुने गर्छन । जटिल अवस्थाका घाइते बिरामीलाई तत्काल उपचार गराउन भैरहवा नै लैजानु पर्ने बाध्यता छ । भैरहवा लैजादासम्म धेरैको बिच बाटोमैं मृत्यु हुने गरेको स्थानीयको गुनासो छ । तसर्थ हुलाकी राजमार्गलाइ लक्षित गरेर पायक पर्ने स्थानमा एउटा ट्रमा सेन्टर सञ्चालनको योजना पनि बोहरले अघि सारेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology