काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा ३१ जनाको ज्यान गएको छ भने १६० भन्दा बढी घाइते भएका छन् ।
अधिकारीहरूले घटनाको पुष्टि गर्दै आक्रमणको कडा निन्दा गरेका छन् ।
प्रहरीका अनुसार फिटना अल-ख्वारिजसँग सम्बन्धित आतंककारीले तारलाईस्थित इमामबारगाह खादिजत उल कुब्रामाथि आक्रमण गरेका हुन् । मस्जिदको प्रवेशद्वारमा रोक्न खोज्दा आतंककारीले गोली चलाएको र त्यसपछि भित्र पसेर प्रार्थनाका क्रममा आत्मघाती विस्फोट गराएको जियो न्यूजले उल्लेख गरेको छ ।
विस्फोटपछि सुरक्षाकर्मीले क्षेत्र घेराबन्दी गरी उद्धार कार्य सुरु गरेका थिए । घाइतेहरूलाई इस्लामाबाद र रावलपिण्डीका विभिन्न अस्पतालमा सारिएको छ । अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।
घटनाप्रति राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शेहबाज शरीफले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology