देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले बुद्ध जन्मस्थल लुम्बिनीसँगै बुद्ध मावली देवदहको प्रचारप्रसार र विकास जरुरी रहेको बताएका छन् । उनले बुद्ध धर्मावलम्बीहरुमा बुद्ध मावलीको पनि अधिक महत्व रहेको जनाउँदै देवदहको विकासमा जोड दिएका हुन् ।
निर्वाचन क्षेत्रको देवदह लगायत विभिन्न ठाउँहरुमा मतदाता भेटघाट गर्दै राप्रपा उम्मेदवार बोहराले बुद्ध मावलीको ब्राइण्डिङ गर्न सकिए पर्यटकीय हिसावले पनि रुपन्देही–१ मा धेरै लाभ उठाउन सकिने जनाए । ‘हामीले लुम्बिनीको विकास र प्रचारमा ठूलो लगानी गरेका छौं’, उनले भने, ‘उत्तिकै महत्व बोकेको देवदह ओझेलमा छ’, उनले भने, ‘अब त्यसो हुन दिइँदैन । मैले लुम्बिनीसँगै देवदहको समानुपातिक प्रचार र विकासमा पहल गर्छु ।’
उनले बुद्ध मावलीको अन्तर्राष्ट्रिय वगतमा प्रवद्र्धन गरी लुम्बिनी घुम्न आएका पर्यटकलाई यहाँ ल्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले देवदहमा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्वर्गीय दीपक बोहराको पहलमा स्थापना भएको जनाउँदै विश्वविद्यालय मार्फत् पनि शैक्षिक पर्यटकीय गतिविधि अघि बढाउन सकिने जनाए ।
बोहराले देवदह क्षेत्रको उत्खनन् गरी पुरातात्विक वस्तुहरुको संरक्षणमा समेत जोड दिए । आफू निर्वाचित भए पछि यस क्षेत्रको पर्यटकीय विकासमा नमूना काम गर्ने गरी योजना बनाएको उनको भनाई छ । पर्यटकको बसाईं अवधि लम्ब्याउन समेत देवदह लगायत अन्य धार्मि तथा ऐतिहासिक स्थलहरुको विकास र प्रबद्र्धन जरुरी रहेको बोहराको जोड छ । क्षेत्र नम्बर १ धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसावले उत्कृष्ट गन्तव्य बन्न सक्ने जनाउँदै यसका लागि राप्रपाले सधैं अग्रसरता लिएर काम गर्ने बोहराले प्रतिबद्धता व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology