धकधई । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही-१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले जेनजी आन्दोलनको भावना अनुरुप काम गर्ने राजनीतिक पार्टी राप्रपा भएको बताएका छन् ।
रुपन्देही-१ का मतदाताहरुसँग चुनावी भेटघाटका क्रममा उम्मेदवार बोहराले जेनजीको भावना अनुरुप भ्रष्टाचार बिरुद्ध र मुलुकमा सुशासनको बिषयलाई प्राथमिकतामा राखेर राप्रपा चुनावी मैदानमा उत्रिएको बताए ।
जेनजी आन्दोनलकै कारण मुलुकमा अहिलेको राजनीतिक परिवर्तन आएको बताउँदै उनले अहिलेको अवस्थामा भ्रष्टाचार नियन्त्रण र सुशासनको बिषयलाइ बाहिर राखेर कुनै पनि चुनावी मुद्दा हुनै नसक्ने बताए । ‘जेनजी आन्दोनको मुख्य उद्देश्य नै भ्रष्टाचारबिरुद्ध र मुलुकमा सुशासनका लागि थियो ।’ बोहराले भने, ‘जेनजी आन्दोलनमा त्यति धेरै युवाले सहादत प्राप्त गरे । उनीहरुको बलिदानी र भावनालाई आत्मसात गरेर अगाडि बढ्नुको बिकल्प छैन ।’
यतिबेला सवै दल र उम्मेदवारले आफूलाई जेनजीको भावना अनुरुप आफ्नो उम्मेदवारी भन्दै जनतामाझ आउने गरेपनि धेरैले जेनजी आन्दोलनको मर्म र भावनालाई व्यवहारमा आत्मसात गर्न नसकेको उनले बताए । भ्रष्टाचार र सुशासनको कमीले मुलुकका सहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रका जनता बढी प्रताडित हुने गरेको उनको बुझाइ छ । उनका अनुसार, सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा शिक्षा र चेतनाको स्तर कमी हुने भएकाले ग्रामीण जनता बढी प्रताडित हुने गरेका हुन् ।
‘कुनै पनि सरकारी कार्यालयमा काम लिएर गएका ग्रामीण क्षेत्रका सेवाग्राहीलाई कर्मचारीले ‘यो काम हुँदैन’ वा ‘आज हुँदैन, अर्को दिन आउनु’ भनेर भनेमा किन ? भनेर प्रश्न गर्न वा प्रतिवाद गर्न सक्दैनन् ।’ बोहराले भने, ‘यस खालका निरीह र निमुखा ग्रामीण जनतालाई अव चेतना जगाएर किन ? भन्ने प्रश्न गर्दै प्रतिवाद गर्न सक्ने सक्षम नागरिक बनाउनु छ ।’
भ्रष्टाचार बिरुद्ध र सुशासनको पक्षमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थासँगको पहुँचमा पनि ग्रामीण क्षेत्रका जनता धेरै पछि रहेको उनी बताउँछन् । ‘ग्रामीण क्षेत्रका जनता सरकारी कार्यालयमा हुने कामका लागि पनि धेरै थोरै घुस खुवाउनु पर्ने बाध्यताबाट बढी पीडित छन् । सहजै हुने कामका लागि कर्मचारीले झुलाएर धेरै दिन लगाइदिने परिपाटीबाट प्रताडित छन् ।’, बोहराले भने, ‘त्यसैले यस खालका बेथिती अन्त्यका लागि यस क्षेत्रमा राप्रपाबाट मेरो उम्मेदवारी हो ।’
उनले राप्रपाले युवाहरूलाई अवसर दिने र नेतृत्व तहमा पुर्याउने जनाए । युवाले नेतृत्व गरे हरेक क्षेत्र सबल हुने उनको भनाइ छ । यसका लागि हरेक क्षेत्रमा युवाको भूमिका र नेतृत्व बढाउनुपर्ने बोहराको जोड छ । आफूले जिते त्यो अवसर प्रदान गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology