देवदह । रुपन्देही क्षेत्र नम्बर-१ मा कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका हिराबहादुर खत्रीले सबै धर्म, संस्कृतिको रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । विभिन्न भाषा, संस्कृति र जातजाती रहेको हाम्रो मुलुकमा सद्भाव बचाई राख्न सबै धर्म संस्कृतिको संरक्षण र विकासमा लाग्नु पर्ने उनले बताए ।
महाशिव रात्री पर्वको अवसरमा आइतबार रुपन्देही क्षेत्रनम्बर-१ स्थित शिवालय तथा विभिन्न शिव मठ, मन्दिरहरुको दर्शन तथा परिक्रमा गर्दै उनले यस क्षेत्रमा रहेका धार्मिक धरोहरको संरक्षण र विकासकालागि योजना र कार्यक्रमलाई प्राथमिकता दिने प्रतिवद्धता जनाए ।
उम्मेदवार खत्रीले रुपन्देही-१ अन्तर्गतका देवदह, तिलोत्तमा रोहिणी र ओमसतियाका विभिन्न वडा तथा टोलमा रहेका मठ, मन्दिरको परिक्रमासँगै दर्शन गर्दै समाजमा सद्भाव कायम गर्नकालागि सबै धर्मको सम्मान गर्नु आवश्यक रहेको बताए ।
आन्दोलनपछि नव युवाहरुले राखेका र अगाडी सारेका मुद्धा तथा चाहनाका आधारमा आफुले उम्मेद्वारी दिएको बताएका खत्रीले युवाहरुको भावना र चाहनाको कदर गर्दै आफुले योजना र कार्यक्रम बनाउने उल्लेख गरे ।
उनले रुपन्देहीको देवदह १० स्थित गौशाला सिद्धेश्वर मन्दिर, शित्तलनगरको दुर्गा मन्दिर, खैरेनीको लोकेश्वर मन्दिर लगायत स्थान तथा तिलोत्तमा-१५ को विन्दबासिनी मन्दिर, तिलोत्तमा-१६ को शिव मन्दिर, तिलोत्तमा-८ को गौशाला, तिलोत्तमा-९ का विभिन्न शिवालय मन्दिरहरुको दर्शन, अवलोकन तथा परिक्रमा गरेका छन् । सो क्रममा खत्रीले धार्मिक दर्शनार्थीहरुलाई भेटेर धर्म, सँस्कृतीको संरक्षण र विकासका बारेमा सुझाव लिएको रुपन्देही १ निर्वाचन परिचालन समिति सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology