धकधई । फाल्गुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा रुपन्देही १ को चुनावी माहोल तातेको छ । यसपटक दलबाट अधिकांश नयाँ उम्मेदवार प्रतिस्पर्धामा रहेकाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ पनि यसपटकको निर्वाचनमा हटस्पट बनेको छ ।
रुपन्देही-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो प्रभाव जमाउँदै छ । साथैं संगठन र प्रचारलाई निकै आक्रामक रूपमा विस्तार गरिरहेको छ । राप्रपाका युवा उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) मतदाताको घरदैलोमा पुग्दै जीत सुनिश्चित गर्ने रणनीतिमा व्यस्त छन् ।
स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका विभिन्न पालिकामा उपाध्यक्षदेखि वडाअध्यक्षसम्म जितेर बलियो जग बनाएको राप्रपाले यसपटक संसदीय निर्वाचनमा पनि आफ्नो वर्चस्व कायम गर्ने समर्थक बताउँछन् । राप्रपाले रुपन्देही १ क मा प्रदेशसभा सदस्य समेत जितेको छ । त्यसैले सांगठानिक र उम्मेदवारका हिसावले दुबै किसिमबाट राप्रपा क्षेत्रका अन्य पार्टी जस्तै बलियो छ । निर्वाचनको मिति नजिकिँदै जाँदा अन्य पार्टीका धेरै मतदाता समेत राप्रपातिर लागेपछि यहाँ बोहरा झन बलियो हुँदै गएको देखिन्छ । यसले अन्य प्रतिस्पर्धीलाई समेत दवावमा राख्न खोजेको देखिन्छ ।
रुपन्देही–१ का मतदाताले यसपटक पार्टीको परम्परागत ‘ट्याग’ भन्दा पनि उम्मेदवारको व्यक्तित्व र योगदानलाई प्राथमिकता दिइरहेका छन् । उम्मेदवार बोहराले रुपन्देही–१ का जनताले पुरानो राजनीतिक ढाँचाबाट मुक्ति खोजेको आफूले पाएको सुनाउँछन् ।
‘मैले लामो समयदेखि यस क्षेत्रका मतदाताको सुख–दुःखमा साथ दिएको छु र उहाँहरूको भावनालाई नजिकबाट बुझेको छु,’ बोहराले भने, ‘यसपटक मतदाताले व्यक्ति हेरेर मतदान गर्ने मुड बनाउनुभएको छ, जसमा राप्रपा पहिलो रोजाइ बनेको छ ।’ पछिल्लो समय चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभावबारे बोहराको आफ्नै विश्लेषण छ । उनका अनुसार रास्वपाको ‘लहर’ वास्तविक मतदातामाझ नभई केवल प्रचारबाजीमा मात्र सीमित छ ।
बोहराका अनुसार, जसले ‘घण्टी’ भनिरहेका छन्, तीमध्ये अधिकांशको कि त मतदाता नामावलीमा नाम छैन, की त सामाजिक सञ्जालको प्रभावमा छन् । वास्तविक मतदाताहरू भने विकासप्रेमी र स्थानीय समस्या बुझ्ने उम्मेदवारको पक्षमा उभिएको उनको भनाई छ । निर्वाचन नजिकिँदै गर्दा बोहराले आफ्नो चुनावी रणनीतिलाई थप कसिलो बनाएका छन् । पार्टीका स्थानीय कमिटीहरू र युवा परिचालनलाई तीव्र बनाउँदै उनले आफू जितको निकै नजिक पुगेको दाबी गरेका छन् ।
‘हामी केवल चुनाव लड्न मात्र होइन, जित्नका लागि मैदानमा उत्रिएका छौं,’ उनले भने, ‘हाम्रो संगठन र जनताको अपार मायाले रुपन्देही–१ मा राप्रपाको विकल्प नरहेको स्पष्ट पारेको छ ।’ उनले पार्टी केही कमजोर रहेको तिलोत्तमा क्षेत्रमा पनि सयौं मतदाता खुलेर राप्रपामा लागेकाले जित सहज हुँदै गएको सुनाए । रोहिणी, ओमसतिया र देवदहमा राप्रपा निकै बलियो छ । रोहिणीमा राप्रपाले कुल खस्ने मतको दुई तिहाई ल्याउने दावी गरिरहेको छ । ओमसतिया र देवदहमा अन्य पार्टी सरह आफ्नो प्रभाव कायम राखेको राप्रपा नेताहरु बताउँछन् ।
‘तिलोत्तमा केही कमजोर थियो, जब प्रज्जवल बोहरा राप्रपाबाट उम्मेदवार बन्नुभयो, धेरैले उहाँको योजना मन पराए, व्यक्ति र व्यक्तित्व मन पराए’, राप्रपा नेता शंकर खत्री भन्छन्, ‘स्वर्गीय दीपक बोहराले क्षेत्र विकासमा गरेको योगदान र हाम्रा उम्मेदवारको कार्यकुशलता, इमान्दारीता र स्पष्ट योजनाले तिलोत्तमामा पनि हामी निकै बलियो भएका छौं । यस हिसाबले हामी जितको गतिमा अगाडि बढीसकेका छौं ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology