काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालको मौसम पूर्वानुमानका आधारमा देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी तथा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
शुक्रवार र सनिबार मौसम प्रतिकुलताको सम्भावना रहेको बताउँदै प्राधिकरणले भोली दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्र आसपासका जिल्ला तथा सनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा झण्डै ११९ किलोमिटर प्रतिघण्टाको गतिमा तिव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ ।
प्राधिकरणले जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार केही क्षेत्रमा भारी वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ । यसले सडक तथा हवाई यातायात, जनजीवन र दैनिक गतिविधिमा असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ ।
विशेषगरी पहाडी तथा हिमाली जिल्लामा यात्रा गर्दा उच्च सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न तथा मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ । साथै नदी, खोलानाला आसपास बसोबास गर्ने तथा काम गर्ने नागरिकलाई बाढी तथा पहिरोको जोखिमप्रति सचेत रहन भनिएको छ ।
प्राधिकरणले चट्याङ, हुरीबतास र वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन सुरक्षित स्थानमा बस्न, विद्युतीय उपकरण सावधानीपूर्वक प्रयोग गर्न र आपतकालीन अवस्थामा स्थानीय निकाय तथा सम्बन्धित निकायसँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
मौसम प्रतिकूल रहने सम्भावनालाई ध्यानमा राख्दै सबै सरोकारवाला निकाय र सर्वसाधारणलाई आवश्यक तयारी तथा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology