भैरहवा । जिल्ला मालपोत कार्यालय रूपन्देहीको राजस्व सङ्कलन चालु आर्थिक वर्षको फागुन मसान्तसम्म घटेको देखिएको छ। यसले पछिल्लो समय घरजग्गा कारोबारमा आएको सुस्तता र समग्र आर्थिक गतिविधिमा कमी आएको संकेत गरेको छ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म रु ८० करोड ९७ लाख ६४ हजार ९४० राजस्व सङ्कलन भएको थियो। तर चालु आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यो रकम घटेर रु ७३ करोड ३९ लाख ३९ हजार ४६८ मा सीमित भएको छ।
तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा रु ७ करोड ५८ लाख २५ हजार ४७२ ले राजस्व असुली घटेको हो ।
कार्यालयकी लेखा अधिकृत सुजता पोखरेलले घरजग्गा खरिद-बिक्री, नामसारी तथा लिखत दर्ता जस्ता सेवामार्फत राजस्व सङ्कलन हुँदै आएको बताइन् । उनका अनुसार बजारको चलायमानता, आर्थिक गतिविधिको अवस्था र घरजग्गा कारोबारमा आउने उतार-चढावले राजस्वमा प्रत्यक्ष असर पार्ने गर्छ।
चालु आर्थिक वर्षको बाँकी अवधिमा आर्थिक गतिविधि बढ्ने अपेक्षासहित राजस्व सङ्कलनमा सुधार आउने कार्यालयको विश्वास छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology