काठमाडौं । नेपाली मूलका उद्यमी शेष घले र जमुना गुरुङ यसवर्ष पनि अष्ट्रेलियाका सर्वाधिक धनी व्यक्तिहरूको सूचीमा परेका छन् ।
द अष्ट्रेलियनले सार्वजनिक गरेको सन् २०२६ मा अष्ट्रेलियाका धनी र शीर्ष कमाइ गर्नेहरूको सूचीमा घले र गुरुङ समावेश भएका हुन् । उनीहरु क्रमशः १५०औं र १५१औं स्थानमा अटाएका छन् ।
लगातार १८ वर्षदेखि यो सूचीमा स्थान सुरक्षित राख्न सफल हुँदै आएका घले दम्पती सन् २००९ मा पहिलोपटक शीर्ष २५० धनीहरूको सूचीमा प्रवेश गरेका थिए ।
उनीहरू मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका सह संस्थापक हुन् । द अष्ट्रेलियनका अनुसार घले दम्पतीले संयुक्त रूपमा १ अर्ब २१ करोड डलर सम्पत्ति जोडेका छन् ।
नेपालमा जन्मिएका उद्यमी गुरुङ र घलेले सन् १९९० को दशकको सुरुतिर अष्ट्रेलिया बसाइँ सरेका थिए । यो दम्पतीले सन् १९९६ मा स्थापना गरेको मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मेलबर्न र सिड्नीमा क्याम्पसहरू र अष्ट्रेलियाका विश्वविद्यालयहरूसँगको साझेदारीसहित अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अष्ट्रेलियाको सबैभन्दा ठूलो निजी उच्च शैक्षिक संस्थाहरूमध्ये एक बनेको द अष्ट्रेलियनले उल्लेख गरेको छ ।
शैक्षिक व्यवसाय मुख्य उद्यम रहे पनि घले दम्पती निरन्तर रूपमा घरजग्गा व्यवसायमा पनि संलग्न छन् । उनीहरूले मेलबर्नभरि व्यावसायिक सम्पत्तिहरूको पोर्टफोलियो अधिग्रहण गरेका छन्, जसमध्ये धेरैवटामा एमआईटीका क्याम्पसहरू सञ्चालित छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology