पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सर्वाधिक पुरस्कार राशिको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘१० औं सुर्यनगर गोल्डकप’ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक नव यूवा क्लव बर्दघाट-१६ ले पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि प्रतियोगिता सुरु हुने जानकारी दिएको हो ।
प्रतियोगिताको विजेताले नगद रु ६ लाख ६६ हजार ६ सय ६६ र उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका अध्यक्ष धन सिंह चितौरेले बताउनुभयो । प्रतियोगितामा कूल ८ वटा उत्कृष्ट टिमहरूको सहभागिता रहनेछ ।
खेल सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका आर्थिक संयोजक प्रदिप अधिकारीले जानकारी दिए । वडा नम्बर १६ का अध्यक्ष एवम् फुटबल संघ लुम्बिनी प्रदेशका महासचिव भिमकाजी गुरुङका अनुसार बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुँदै आएको यस गोल्डकपका लागि नगरपालिकाले यस वर्ष बजेटमै १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । प्रतियोगिताको उद्घाटन खेल चितवनको हर्दी युवा समाज र मकवानपुरको हेटौंडा एकेडेमीबीच हुने खेल संयोजक मीन गुरुङले जानकारी दिए ।
पूर्व नगरप्रमुख धिरज शर्मा बस्यालको कार्यकालमा ५ लाख रुपैयाँबाट सुरु भएको नगरपालिकाको सहयोग हाल वृद्धि भएर १२ लाख पचास हजार पुगेको छ । वडा अध्यक्ष गुरुङले सुर्यनगर गोल्डकप बर्दघाट नगरपालिका र सिङ्गो जिल्लाकै पहिचानसँग जोडिएकाले यसलाई भव्य रूपमा सफल पार्न आग्रह गरे ।
हजारौँ दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको प्रतियोगिताको फाइनल खेल आगामी वैशाख ५ गते हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology