शैक्षिक संस्थाका प्रमुख र सवारीचालकलाई ट्राफिक सचेतना
बुटवल । तिलोत्तमा नगरभित्र रहेका शैक्षिक संस्थाका प्रमुख तथा विद्यालय सवारी चालकलाई ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण दिइएको छ ।
सुरक्षित यात्रा नेपालको आयोजनामा ट्राफिक सचेतना अभिवृद्धि तथा दुर्घटना न्यूनीकरणका लागि एकदिने प्रशिक्षण गरिएको हो । प्रशिक्षणमा विद्यालय सञ्चालक तथा सवारी चालक सहभागी थिए ।
नेपाल ट्राफिक प्रहरीका वरिष्ठ नायब निरीक्षक ज्ञानु पाण्डेले सहजीकरण गर्दै सवारीको तीव्र गति, मादक पदार्थ सेवन, ट्राफिक नियमको पालना नगर्नु, चालकको लापरवाही तथा क्षमताभन्दा बढी यात्रु बोक्ने कार्यले दुर्घटना निम्त्याउने बताए । उनले विद्यार्थी बोक्ने सवारी सम्बन्धी निर्देशिका सबै विद्यालयले पालना गर्नुपर्नेमा जोड दिए ।
प्रशिक्षणमा सवारीको बत्ती प्रयोग, ओभरटेक, लेन प्रयोग, ब्रेकिङ दूरी, गति नियन्त्रण, सवारी प्राथमिकता, ट्राफिक चिन्ह, कानुनी व्यवस्था तथा दुर्घटनापछिको नागरिक भूमिकाबारे सहजीकरण गरिएको थियो ।
कार्यक्रममा करिब २ सय विद्यालय सवारी चालकको सहभागिता रहेको कार्यक्रम संयोजक दीपक ढकालले जानकारी दिए । सहभागी चालकले सडकको अवस्थाले पनि दुर्घटना निम्त्याउने जोखिम रहेको बताएका थिए । उनीहरूले विशेषगरी मणिग्राम चोक क्षेत्रमा सडक अवस्थाका कारण सवारी सञ्चालन कठिन भएको गुनासो गरेका थिए ।
चालकले सवारीको अवस्था, छाडाचौपाया, रिक्सा लगायत साना सवारीका कारण पनि दुर्घटनाको जोखिम बढेको उल्लेख गर्दै सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल ट्राफिक प्रहरी तथा राजमार्ग सुरक्षा व्यवस्था कार्यालय लुम्बिनी प्रदेश बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल तथा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि रमेश डुम्रे लगायतले धारणा राखेका थिए ।
तिलोत्तमा नगर कार्यपालिकाको सहकार्य तथा नेपाल ट्राफिक प्रहरी र राजमार्ग सुरक्षा व्यवस्था कार्यालय लुम्बिनी प्रदेशको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक प्रतिमा कार्कीले गरेकी थिइन् ।
तिलोत्तमा नगरपालिकामा ८२ वटा शैक्षिक संस्था रहेका छन् । जसमध्ये ४२ वटाले आफ्नै सवारी साधन सञ्चालन गरिरहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology