बुटवल । असुरक्षित गर्भपतनबाट महिलाको मृत्यु भएपछि बुटवलका २ चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गर्भपतन गराउने क्रममा पाल्पा बगनासकाली २ की गीता पाण्डेको मृत्युपछि खत्री नर्सिङ होमका सञ्चालक डा. डिबी खत्री र इन्दुलेखा स्वास्थ्य संस्था प्रा.लि का सञ्चालक डा. सतिस रुपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
करिव १२ हप्ताको गर्भवस्थामा रहेकी गीता श्रीमान प्रकाश पाण्डेसँगै बुटवल इटाभट्टी स्थित खत्री नर्सिङ होममा नियमित चेकजाँचको लागि पुगेकी थिइन् । उनको गर्भमा रहेको बच्चा ‘एबनर्मल’ रहेको र गर्भपतन गर्नुपर्ने भन्दै उनलाई खत्रीबाट जोनल हुँदै इन्दुलेखा क्लिनिक रेफर गरिएको थियो ।
मेडिकलहरुले एकले अर्कालाई विरामी बेच्दै गैरजिम्मेवार र लापरवाहीपूर्ण तवरबाट गर्भपतन गराउँदा गीताको मृत्यु भएको भन्दै श्रीमान् प्रकाश पाण्डेले इलाका प्रहरी कार्यालय बुटवलमा ५ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।
सोही जाहेरीको आधारमा यसअघि इन्दुलेखाका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसीका सञ्चालक सन्ध्या बस्नेत र निलम घर्तीमगरलाई प्रहरीले मंगलवार बिहान पक्रेको थियो । मंगलवार साँझ खत्री र रुपाखेतीलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
हाल मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology