देवदह । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टीहरुले वडा तथा स्थानिय पालिकाहरुमा निर्वाचन प्रचार प्रसार कार्यालयहरु स्थापना गरिरहेका छन् । निर्वाचनको तयारी, छलफल तथा समग्र पक्षमा पार्टीका कामहरु अगाडि बढाउन प्राय सबै पार्टीहरुले निकै तामझामका साथ प्रचार प्रसार कार्यालयहरु उद्घाटन गरेको पाइएको छ ।
यसै सन्दर्भमा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसले प्रचार प्रसार कार्यालय उद्घाटन गरेको छ । शनिबार देवदह ६ मिलनचोकमा प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री अब्दुल रज्जाकले बैशाख ३० गते हुँदै गरेको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जीताउन आग्रह गरे । उनले दुई तिहाइको कम्युनिष्ट सरकारले जनभावना अनुसारको काम गर्न नसकेको आरोप लगाउँदै आगामी प्रदेश र संघको निर्वाचनमा समेत नेपाली कांग्रेसलाई बिजयी बनाउने गरि लाग्न सबै कार्यकर्ताहरुलाई निर्देश गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ का सभापति हिरा बहादुर खत्रीले गणतन्त्र स्थापना भएपछिको पहिलो निर्वाचनमा भाग लिएर देवदहको नेतृत्व लिदै गर्दा सोँचेजस्तो विकास गर्न नसकिएपनि निति निर्माणको महत्वपूर्ण काममा उल्लेख्य उपलब्धी प्राप्त भएको दाबी गरे । देवदह नगरपालिकाका प्रमुख समेत रहेका खत्रीले देवदहको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत धेरै क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासील गरेको बताउँदै अगाडि बढाइएका योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि फेरी पनि कांग्रेसको नेतृत्व आवश्यक रहेको जिकिर गरे।
कार्यक्रममा पार्टीका महासमिति सदस्य मणि प्रसाद डुम्रे, जिल्ला सह–सचिव बासुदेव रिमाल, महाधिवेशन प्रतिनिधि मिना पौडेल, प्रदेश क का सभापति नविन आचार्य, देवदह नगर कार्यसमिति सभापति गुनाखर भुर्तेल, देवदह नगरपालिका वडा नं. ६ का अध्यक्ष दामोदर क्षेत्री, देवदह महिला संघका संयोजक कमला अर्याल लगायतले बोलेका थिए । कार्यक्रम वडा सभापति रुकाग्मत भारतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology