देवदह । जेन्जी आन्दोलन, सत्ता र सडकबारे देवदहमा बहस भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानले शनिवार आयोजना गरेको कार्यक्रममा जेन्जी अभियन्ता रक्षा बम, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य प्रदिप ज्ञवाली र पत्रकार पवन पौडेलले बहस छलफल गरे ।
अन्तरक्रियामा बोल्दै जेन्जी नेतृ बमले जेन्जी आन्दोलनको क्रममा भदौ २४ मा भएको क्षतिको राज्यले अनुसन्धान गर्नुपर्ने बताइन् । उनले राज्यको आधिकारिक निकायले अनुसन्धान गरेर सत्य बाहिर ल्याउनुपर्ने धारणा राखिन् ।
'हामी प्रश्न लिएर सडकमा गएका थियौं । तत्कालिन केपी ओली नेतृत्वको सरकारलाई हाम्रो करको पैसा कहाँ छ भन्ने प्रश्न उठाएका थियौं ।' अन्तरक्रियामा उनले भनिन्, ' भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा युवाहरुलाई ताकीताकी राज्यले गोली वर्षाएको हो । भदौ २४ मा जेजस्तो क्षति भयो त्यसको पनि अनुसन्धान अवश्यक छ ।'
नेतृ बमले आफुले सत्ता र सडकमध्ये सडक रोजेको उल्लेख गर्दै कुनै नायकले जादुको छडी घुमाएर परिवर्तन गर्न नसक्ने धारणा राखिन् । बालेन्द्र शाह नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्ने मौका गुमाउन नहुने उनको भनाइ छ ।
सोही कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य प्रदीप ज्ञवालीले आफु सडक र सत्ताको सेतु बन्ने धारणा राखे । सत्ताले सडकको आवाज सुन्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जेन्जी आन्दोलनको अपेक्षा अनुसार काम गर्ने विचार व्यक्त गरे ।
त्यसैगरी कार्यक्रममा बोल्दै पत्रकार पवन पौडेलले जेन्जी आन्दोलनमा मिडियाको महत्वपूर्ण भूमिका रहेको बताए । संचारमाध्यमले सडकको आवाजलाई महत्वका साथ उठाएको उल्लेख गर्दै पत्रकार पौडेलले नयाँ सरकार बनिसकेको अवस्थामा फेरी पनि मिडिया सडकतिरै फर्किनुपर्ने धारणा राखे । सत्ताको निगरानी र सडकको आवाजलाई सत्तासम्म पुर्याउने कार्यमा मिडिया चुक्न नहुने उनको भनाई छ ।
कार्यक्रमको सहजीकरण डा. आविष्कार पराजुलीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology